back
stc
prabhu insurance

सबै बिमा कम्पनीले पेश गरे ‘क्यापिटल प्लान’, कसरी पुर्याउँदैछन् पुँजी ?

काठमाडौं । सञ्चालनमा रहेका ३८ वटै बिमा कम्पनीहरुले पुँजी वृद्धि योजना बुझाएका छन् । बिमा समितिले तोकेको समयभन्दा दुई दिन ढिला गरेर १४ बिमा कम्पनीहरुले पुँजी वृद्धिको योजना पेश गरेका हुन् ।

समितिका अनुसार क्यापिटल प्लान पेश गर्न बाँकी रहेका १४ कम्पनीले मंगलबार वैशाख १३ गते योजना पेश गरेका हुन् । नेपाल लाइफ इन्स्योरेन्स बाहेकका अरु कम्पनीले पुँजी वृद्धि योजना पेश गरेका हुन् ।

यसको पुँजी अहिले नै समितिले निर्धारण गरेको भन्दा धेरै छ । समितिका अनुसार अधिकांशले हकप्रद सेयर जारी गर्ने योजना सहितको क्यापिटल प्लान पेश गरेका छन् । कम्पनीहरुले बुझाएको क्यापिटल प्लानमाथि समितिले अध्ययन गरेर मात्रै निर्णय गर्ने समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

बिमा समितिले गत चैत १० गते बिमा कम्पनीहरुको चुक्ता पुँजी बढाउने निर्णय गरेको थियो । बिमा समितिको निर्णय अनुसार जीवन बिमा कम्पनीले ५ अर्ब र निर्जीवन बिमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ न्यूनतम चुक्ता पुँजी पुर्याउनु पर्नेछ ।

समितिले १ वर्षभित्र तोकिएको पुँजी पुर्याउन निर्देशन दिएको हो । यसका लागि एक महिनाभित्र पुँजी वृद्धिको योजना पेश गर्न समितिले भनेको थियो ।