एनआइसी एसिया बैंक र नेपाल लाइफको संस्थापक सेयर फेरि पनि आयो लिलामीमा
काठमाडौं । एनआइसी एसिया बैंक र नेपाल लाइफ इन्स्योरेन्सले आज असार २० गतेदेखि आफ्नो नाममा रहेको संस्थापक सेयर लिलामी बिक्री खुला गरेका छन् ।
दुवै कम्पनीले यसअघि बिक्री खुला गर्दा नबिकेपछि पुनः बिक्रीमा ल्याएका हुन् । जसमा एनआइसी एसिया बैंकको ७ लाख १९ हजार ९५० कित्ता र नेपाल लाइफको ५ लाख ९६ हजार ९२१ कित्ता सेयर रहेको छ । यसमा असार २७ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।
लगानीकर्ताले एनआइसीको सेयरमा न्यूनतम ४२५ रुपैयाँ र नेपाल लाइफको सेयरमा ७०० रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
न्यूनतम १ हजार कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ ।
यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौंबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिने कम्पनीले जनाएको छ ।
यस्तै, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ । साथै, बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने व्यवस्था छ ।
वि.सं.२०७९ असार २० ११:१०




















