back
stc
prabhu insurance

सानिमा बैंकले पायो अन्तर्राष्ट्रिय वित्त निगमबाट २ करोड अमेरिकी डलर ऋण

काठमाडौँ । सानिमा बैंकले विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) बाट २ करोड अमेरिकी डलर विदेशी ऋण प्राप्त गरेको छ।

तरलता अभावलाई मध्यनजर गरी गत आर्थिक वर्षमा नै सानिमा बैंकले आइएफसीसँग सम्झौता गरी विदेशी ऋण ल्याउन प्रयत्न गरेको थियो।

राष्ट्र बैंकले स्वीकृति दिएपश्चात उक्त रकम यस आर्थिक वर्षमा प्राप्त गरी सानिमा बैंकले यस्तो ऋण ल्याउने सीमित बैंकहरूको पंक्तिमा आफूलाई उभ्याएको छ।

आइएफसीका नेपाल आवासीय प्रतिनिधि बाबकार एस फइबाट प्राप्त सन्देश अनुसार सानिमा बैंकमा गरिएको यस लगानीले लघु, साना तथा मझौला प्रकृतिका व्यवसायलाई वित्तीय पहुँचमा थप सहजीकरण गर्दै नेपालको आर्थिक पुनरुत्थानमा सहयोग गर्ने लक्ष्य राखेको छ।

लघु, साना तथा मझौला व्यवसायको लगानीले यस क्षेत्रको विस्तार र रोजगारी सिर्जना गर्न सक्षम बनाउने पनि बताइएको छ।

साथै, नगद प्रवाहले नेपालको तरलता संकट र घट्दै गएको विदेशी मुद्रा सञ्चितिलाई कम गर्न पनि योगदान पुऱ्याउने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंले बताएका छन्।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत  निश्चल राज पाण्डे भन्छन्, ‘आइएफसीले नेपालमा एसएमई इकोसिस्टमको विकास गर्न सानिमा बैंकको दृढ प्रतिबद्धताको कदर गर्दै दीर्घकालीन साझेदारीका लागि तत्पर रहनेछ।’

पाण्डेले अहिलेको तरलताको असहज परिस्थितिमा पनि आइएफसीबाट प्राप्त रकमले एमएसएमई सेक्टरमा कर्जा प्रवाह गर्न केही सहजता हुने धारणा व्यक्त गरेका छन्।

उक्त सम्झौताअनुसार यो रकम लघु, साना तथा मझौला प्रकृतिका व्यवसायमा ऋण प्रवाह गर्न प्रयोग गरिने उनको भनाइ छ।

समावेशिता तथा दिगो विकासको सिद्धान्तमा आधारित रही बैंकले यो रकम उक्त क्षेत्रमा प्रवाह गर्ने पाण्डेले बताएका छन्।