नक्कली कागज बनाएर भिजिट भिसामा
काठमाडौँ । भिजिट भिसामा दुबई जाने क्रममा शुक्रबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट फर्काइएकी मुगुकी २४ वर्षीय रमिता बस्नेत(नाम परिवर्तन)लाई आफ्नै बैङ्किङ विवरण र खातामा कति रकम छ भन्नेसमेत जानकारी छैन ।
धादिङकी सुनिता तामाङ र मोरङकी कमला दर्जी ९दुवैको नाम परिवर्तन०लाई दुबई पुगेर कहाँ जाने र के गर्ने भन्नेसम्म थाहा छैन । यो केही प्रतिनिधि पात्रको अवस्था मात्र हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले पछिल्ला तीन दिनमा भिजिट भिसाको आवरणमा वनावटी र नक्कली कागजपत्र प्रयोग गरी खाडी मुलुक जान लागेका ११४ जना युवती र १०३ युवक गरी २१७ जनालाई विमानस्थलबाट फर्काइएको थियो ।
फर्काइएका अधिकांशको कागजपत्र नक्कली समेत रहेको पाइएको छ । अधिकांश यात्रुले प्रयोग गरेका बैङ्किङ कागजपत्रदेखि प्रहरी रिपोर्टसमेत बनावटी रहेको पाइएको छ ।
विमानस्थल सुरक्षा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जीसीले अधिकांश यात्रुले प्रयोग गरेका कागजपत्र बनावटी रहेको पाइएपछि विमानस्थलबाट फिर्ता गरिएको जानकारी दिनुभयो ।
फर्काइएका अधिकांश यात्रुको बैङ्किङ विवरण एकै किसिमको पाइएको छ । खातामा रकम जम्मा भएको मिति, रकम जम्मा गर्ने व्यक्ति तथा जम्मा गरेको रकमसमेत एउटै रहेको छ ।
मोरङ, सुनसरी, बारा, पर्सा र धनुषाबाट दुबई जान लागेका सात जना यात्रुको बैङ्किङ विवरणमा व्यक्तिको नामबाहेक सबै एउटै छ ।
कुवेत जान लागेकी मुगुकी रमिता र दुबई जान लागेकी मोरङकी कमला दर्जीको बैङ्क फरक भए पनि जम्मा गरिदिने व्यक्ति, कारोबार र रकम एउटै छ तर दुवै जनालाई कारोबार रहेको बैङ्कको नाम र रकमबारे समेत जानकारी छैन ।
अध्यागमन विमागले जारी गरेको कार्यविधिमा भिजिट भिसामा खाडी मुलुक जाने यात्रुलाई आफ्नै परिवारकाले बोलाएको पत्र (स्पोन्सर लेटर) र सम्बन्धित देशको दूतावासको अनुमति अनिवार्य गरिएको छ ।
गृह मन्त्रालयले उक्त घटनाबारे अध्यागमन विभाग र प्रहरीबाट अनुसन्धान भइरहेको जनाएको छ । प्रवक्ता फणीन्द्रमणि पोखरेलले त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमबाट यात्रुले प्रयोग गरका कागजपत्रको प्रमाणीकरण जटिल रहेको बताउनुभयो ।
उहाँले पछिल्लो घटनाबारे नेपाल प्रहरी अध्यागमन विभागलेसमेत छानबिन गरिरहेको र कमजोरी भएको पाइएमा कानुनी कारबाही अघि बढाइने बताउनुभयो ।
सेटिङको आशङ्का
पछिल्ला घटनाक्रम यात्रु भ्रमण यात्रा र प्रयोग भएका कागजपत्रबाट भिजिट भिसाको आवरणमा मानव तस्करी भएको आशङ्का गर्ने प्रशस्त ठाउँ रहेको अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ ।
यात्रुले प्रयोग गरेका बनावटी कागजपत्र र उनीहरूले प्रयोग गरेको उडान रुट र यात्रा समयसमेत शङ्कास्पद रहेको अनुसन्धानमा खटिएका प्रहरीले जनाएको छ ।
भिजिट भिसामा जाने यात्रुलाई दुईतर्फी टिकट अनिवार्य गरिएकोमा अधिकांश यात्रुले अध्यागन पार गरेपछि फर्किने टिकटसमेत रद्द गरेको समेत खुलेको छ, प्रहरी प्रधान कार्यालयले सो घटनाबारे विस्तृत अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो र मानव बेचबिखन ब्युरोलाई निर्देशनसमेत दिइसकेको जनाएको छ ।
यसैबीच फर्काइएर माइती नेपालको संरक्षणमा राखिएकामध्ये ७० जनालाई परिवार तथा आफन्तको जिम्मा लगाइएको छ । आजको गोरखापत्र दैनिकबाट
वि.सं.२०७९ भदौ १३ ०७:०२


















