सात केन्द्रीय सदस्यले त्यागे विवेकशील साझा
काठमाडौं । विवेकशील साझा पार्टीलाई संस्थापक सदस्य विराजभक्त श्रेष्ठलगायत सात केन्द्रीय सदस्यले त्याग गर्नुभएको छ ।
अन्य ६ केन्द्रीय सदस्यहरू जमुना शर्मा, राज्यलक्ष्मी श्रेष्ठ, रोशनी अधिकारी, सस्मित पोखरेल, श्रीकृष्ण श्रेष्ठ र सुदन मानन्धर हुनुहुन्छ ।
‘पार्टीबाट राजीनामा दिए पनि अहिले हामीले अन्य कुनै दलमा सहभागी हुने निर्णय लिएका छैनौं’ वागमती प्रदेशका सांसद समेत रहेका विराजभक्त श्रेष्ठले बताउनुभयो– अहिले हामी स्वतन्त्र रहनेछौं।
उहाँहरूले हिजो ललितपुरको बखुण्डोलस्थित केन्द्रीय पार्टी कार्यालयमा दर्ता गराएको राजीनामा पत्रमा अपेक्षाअनुसार विवेकशील साझाले काम गर्न नसकेका कारण राजीनामा दिएको जनाइएको छ ।
राजीनामा पत्रको व्यहोरा छ, ‘पद्धति, पारदर्शिता, इमानदारी, उत्कृष्टता जस्ता मूल्य र मान्यताका साथ सुसंस्कृत राजनीति र समतामूलक संमृद्धिलाई संस्थागत गर्न मूलधारे राजनीतिक दलहरूलाई चुनौती दिँदै विवेकशील साझा पार्टीको स्थापना भएको थियो ।
दुःखका साथ भन्नु पर्दा विवेकशील साझा पार्टीमा न त आफ्नै मूल्य र मान्यता पालना भएको पाइएको छ, न त सुसंस्कृत सहभागितामूलक राजनीति र समतामूलक समृद्धिलाई संस्थागत गर्ने प्रयास गरेको पाइएको छ ।’
पार्टी २०७४ सालको संघीय र प्रादेशिक निर्वाचनमा प्राप्त जनमतको सम्मान गरेर आम नागरिकहरूको समस्याहरूलाई सम्बोधन गर्दै सङ्गठन विस्तार गर्नुभन्दा पनि आन्तरिक कलहमा फस्दै, सम्भावनामाभन्दा बढी अरूको आलोचनामा अल्झिरह्यो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
वि.सं.२०७९ भदौ १३ ०७:२७


















