back
stc
prabhu insurance

सहकारी संस्था मर्जर र एक्विजेशन अभियान सुरू

काठमाडौं । सहकारी संस्थाहरु पनि एकीकरण अर्थात मर्जर र एक्विजेशनमा जान थालेका छन्। सहकारी संस्थाहरूको संख्यात्मक वृद्धिले अस्वस्थ प्रतिस्पर्धा बढिरहेको बेलामा सहकारी संस्थाहरु एकीकरणमा जान थालेका हुन्।

काठमाडौमा गत २०७९ भदौ १८ गते शनिबार एक कार्यक्रमबीच ११ वटा सहकारी संस्थाहरुले एकीकरणमा जाने सम्झौता गरेका छन्।

एकीकरण सम्झौता गर्ने सहकारीहरुमा काठमाडौको न्युरोडस्थित शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था, बालाजुस्थित मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था, बागबजारस्थित सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था, चाबहिलस्थित लक्ष्यराइज बचत तथा ऋण सहकारी संस्था छन्।

त्यस्तै तारकेश्वरस्थित योजना बहुउद्देश्यीय सहकारी संस्था, कलंकीस्थित उषाकिरण बचत तथा ऋण सहकारी संस्था, हात्तीसारस्थित माउन्ट अपी बचत तथा ऋण सहकारी संस्था, नयाँबानेश्वरस्थित सूर्यदेव बचत तथा ऋण सहकारी संस्था, न्युरोडस्थित हनुमानढोका बहुउद्देश्यीय सहकारी संस्था, न्युरोडकै दुर्गामाश्रिता बचत तथा ऋण सहकारी संस्था र पिपुल श्रोता बहुउद्देश्यीय सहकारी संस्था रहेका छन्।

नेपालको सहकारी संस्थाहरूको इतिहासमा यो एउटा ऐतिहासिक घटना, सहकारी सुशासनका लागि ऐतिहासिक कदम र महान सुरूवात पनि हो।

एकीकरणपछि संस्थाको नाम ‘राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्था लि.’ प्रस्ताव गरिएको छ। संस्थाको मुख्य कार्यालय न्युरोड काठमाडौं , ११ जनाको सञ्चालक समिति, ३ जनाको लेखा सुपरिवेक्षण समिति, अध्यक्षमा नरेन्द्र विष्ट र प्रमुख कार्यकारी अधिकृतमा इन्द्रप्रसाद गेलाल रहने प्रारम्भिक सहमति भएको छ।

एकीकरणपछि संस्थाको ४१ हजार सदस्य हुनेछन्। कुल कर्मचारी संख्या ५१० जना पुग्नेछ। संस्थाको सेयर पुँजी ५५।५ करोड, बचत निक्षेप ५ अर्ब ६५ करोड, ऋण लगानी ५ अर्ब ७५ करोड, कुल कोष ३१।५ करोड र कुल सम्पत्ती तथा दायित्व ७ अर्ब ७५ करोड हुने प्रस्तावित गरिएको अध्यक्ष नरेन्द्र बिष्टले जानकारी दिएका छन।

सहकारी संस्थालाई दिगो र सक्षम संस्था बनाउने उद्देश्यसहित एकीकरण सम्झौता गरिएको अध्यक्ष बिष्टले बताएका छन। बिष्ट हालको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हुन्।

एकीकरणमा जाने सहकारीहरुले एक महिनाभित्र वार्षिक साधारण सभा सम्पन्न गर्ने र त्यसको १५ दिनभित्र एकीकृत साधारण सभा सम्पन्न गर्नेसमेत सम्झौता भएको छ।

गत शुक्रबारमात्रै ९ वटा सहकारी संस्था र अघिल्लो शनिबार ५ वटा सहकारीले एकीकरण सम्झौता गरेका थिए।