एनआरएनका अध्यक्ष कुल आचार्यले छ महिने कार्यकालमा के– के काम गरे ?
नेपालको संविधान २०७२ ले उल्लेख गरेको गैरआवासीय नेपाली नागरिकता कार्यान्वायन गर्ने गरी संसदको दुबै सदनबाट नेपाली नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ दुइ, दुइ पटक पारित भएको छ।
त्यसलाई कुल आचार्यको छ महिने कार्यकालको मुख्य उपलब्धिको रुपमा लिइएको छ। उक्त विधेयक राष्ट्रपतिज्यूबाट प्रमाणीकरण हुने स्थिति बन्न नसकेकोमा गैरआवासीय नेपाली संघले दुस्ख व्यक्त गरेको थियो।
संविधानले सुनिश्चित गरेको गैरआवासीय नेपाली नागरिकताको प्रावधानलाई छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउन वैकल्पिक कानुनी बाटोको अवलम्बन गर्न पनि एनआरएनएले नेपाल सरकार, नेपालका राजनीतिक दलहरु लगायत सम्बन्धित सबैसंग हार्दिक आग्रह गरेको छ ।
गत १६ जुन २०२२ मा गैरआवासीय नेपाली संघद्वारा ‘नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार’ विषयमा एक दिने कार्यशाला गोष्ठि भव्य र सभ्यरुपमा सम्पन्न भएको थियो ।
उक्त गोष्ठिमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृह मंत्री बालकृष्ण खाँण , परराष्ट्र मंत्री डा. नारायण कार्की, श्रम मंत्री शेर बहादुर कुवँर , कानून मंत्री गोविन्द बन्दी शर्मा कोइराला , सांसदहरू, सचिवहरु, वरिष्ठ सरकारी अधिकारीहरु, कूटनीतिज्ञ, उद्यमी व्यवसायी, संघका संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष तथा पदाधिकारी साथीहरु प्रत्यक्ष र भर्चुएल माध्यमद्वारा संसारभरिबाट जोडिएका थिए। उक्त गोष्ठिका ९ बुँदे निष्कर्षहरु पारित गरेको थियो।
त्यस्तै गत २१ जुलाई २०२२ मा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आयोजनामा “वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा निक्षेप” विषयक एक दिने कार्यशाला सम्पन्न भएको थियो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडू एवम् श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर साथै विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, विषयगत विज्ञ, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू, नीजि तथा व्यवसायिक संघसंस्थाका प्रतिनिधिहरु सहभागी भएका थिए।
सोही अवसरमा वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन आवश्यक सहकार्यका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) र सामाजिक सुरक्षा कोषबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
जसमा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली र एनआरएनएको तर्फबाट अध्यक्ष कुल आचार्य , बद्री केसी र रबिना थापाले हस्ताक्षर गरेका थिए।
विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकलाई मताधिकार प्रदान गर्ने सम्बन्धमा नेपाल सरकार तथा निर्वाचन आयोग निकै सकारात्मक रहेको एनआरएनएले पाएको छ। यो निर्वाचन लगत्तै यसमा फेरि एनआरएनएले ‘फलो अप’ गर्ने भएको छ।
एनआरएनएको निरन्तर प्रयासको फलस्वरुप एनआरएनहरुका लागि डलर एकाउन्ट खोल्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकले पटक पटक नियमावलीहरु संशोधन गरेर सहजीकरण गरेको छ। यो सुविधालाई बढी भन्दा बढी प्रयोग गर्न सक्नु पर्दछ ।
एनआरएनए स्पोर्टस् एकेडेमीद्वारा गत भाद्र २४ र २५ गते आयोजना भएको “प्रथम एनआरएनए राष्ट्रिय कराते च्याम्पयनसीप २०२२” प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ ।
एनआरएनएले १ रजत र ४ कास्य पदक जितेको छ। त्यस्तै आगामी असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एनआरएनए टिम सहभागी हुन लागेको छ र २० खेलमा सहभागिता जनाउने तयारी गरेको छ ।
यसै अवधिमा बैंककमा एसिया प्रशान्त क्षेत्रको नवौं बैठक, स्टकहोममा यूरोप क्षेत्रको १४ औं क्षेत्रीय बैठक, युवा तथा महिला सम्मेलन साथै सिड्नीमा चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलन सफलतापूर्वक सम्पन्न भएका छन्।
यसैबीच केही एनसीसीहरुमा आन्तरिक विवाद देखिए पनि संघको नेतृत्वले विधान अनुरुप ती विवाद समाधान गर्न सक्दो प्रयत्न गरेको छ।
विभिन्न कारणवश एनआरएनएको नाममा छुट्टै गतिविधि संचालन गरिरहेका साथीहरुसँग वार्ता गर्नका लागि संघले एक वार्ता कमिटि पनि गठन गरेको छ।
वि.सं.२०७९ असोज १८ १७:१०

















