back
stc
prabhu insurance

वीरगन्ज सुख्खा बन्दरगाहबाट एक वर्षमा झन्डै ५ अर्बको केराउ आयात

वीरगन्ज । कृषिप्रधान देशको एउटा भन्सार नाकाबाट एक वर्षमा झन्डै ५ अर्बको केराउ मात्र आयात भयो भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । तर, अब यो आश्चर्य नभई नेपालका लागि सत्यतामा परिणत भएको छ ।

मुलुककै पहिलो सुख्खा बन्दरगाह भन्सार कार्यालय वीरगन्जबाट गत आर्थिक वर्ष २०७८/७९ मा मात्र ४ अर्ब ९३ करोड ९१ लाख २७ हजार ६८ रुपैयाँको केराउ आयात भएको छ ।

यो अघिल्लो आर्थिक वर्ष २०७७(७८ को भन्दा ४९ करोड १२ लाख २२ हजार ७ सय ६९ रुपैयाँले बढी हो ।

अघिल्लो आर्थिक वर्षमा भने यो भन्सार नाकाबाट केराउ आयातमा जम्मा ४ अर्ब ४४ करोड ७९ लाख ४ हजार २ सय ९९ रुपैयाँ मात्र बाहिरिएको सो भन्सारको तथ्यांकले देखाएको छ ।

मूल्यका आधारमा यो ७ करोड ८८ लाख ७८ हजार ८ सय ४३ रुपैयाँको केराउ आयात भएको सुख्खा बन्दरगाह भन्सार कार्यालय वीरगन्जका सूचना अधिकारी सन्तोष न्यौपानेले बताए ।

अघिल्लो वर्षभन्दा परिमाणमा भने ५ लाख ७० हजार ६ सय ५० केजी कम आयात भएको उनको भनाइ छ । तैपनि मूल्यका आधारमा भने गतवर्ष अघिल्लो आर्थिक वर्षभन्दा बढी रकम मुलुकबाहिर गएको उनले बताए ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा भने यो भन्सार कार्यालय हुँदै ७ करोड ९४ लाख ४९ हजार ४ सय ९३ किलो केराउ आयात भएको सुख्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालय वीरगन्जको तथ्यांकले देखाएको छ ।

मुलुकभित्र अनाज बढी उत्पादन गर्ने नेपाल सरकारको लक्ष्य ठोस रूपमा कार्यान्वयन हुन नसक्दा अझै पनि केराउ जस्तो एउटा फसल आयातमा नै झन्डै ५ अर्ब जति नेपाली नोट बाहिरिनु ठूलो विडम्बना भएको स्थानीय बुद्धिजीवीले तर्क गरे ।

‘मुलुकभित्रै कृषि फसल राम्रोसँग उत्पादन गर्न सके एउटा अनाज उत्पादनमा मात्र यत्रो रकम बिदेसिने थिएन’ स्थानीय बुद्धिजीवीमध्येका डा विश्वम्भर शर्माले भने ।

अब नेपाल सरकार दीर्घकालीन योजनाका साथ अब कृषि कर्म गर्ने किसानलाई प्राथमिकतामा राखी विभिन्न फसल उत्पादन बढ्ने गरी ठोस कार्य गर्नुपर्ने उनको सुझाव छ । आजको राजधानी दैनिकबाट