back
stc
prabhu insurance

अख्तियारद्वारा दस मुद्दामा पुनरावेदन

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट फैसला भएका १० वटा मुद्दामा असहमति जनाउँदै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। आयोगले सोमबार विज्ञप्ति जारी गरेर यसबारे जानकारी दिएको हो।

पुनरावेदन गरिएको मुद्दामध्ये आठवटा घुस तथा रिसवतसँग सम्बन्धित छन्। प्रश्नपत्रको गोपनीयता भङ्ग तथा गलत प्रतिवेदन तथा झुटा बिल भर्पाइँसँग सम्बन्धी मुद्दा एक–एकवटा छन्।

यी सबै मुद्दामा गत साउन ९ गते पुनरावेदन गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय पर्साको मुद्दा फाँटमा कार्यरत कम्प्युटर अपरेटर सञ्जय यादवलाई पाँच हजार रुपियाँ घुससहित नियन्त्रणमा लिएको छ।

रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग उक्त रकम लिइसकेपछि आयोगको टोलीले यादवलाई नियन्त्रणमा लिएको हो। यादवउपर थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।