back
stc
prabhu insurance

इन्भेस्टमेन्ट र मेगाको सेयर कारोबार मङ्गलबारदेखि सुचारु हुने

काठमाडौँ  । मर्जरको प्रक्रियामा रहेका नेपाल इन्भेस्टमेन्ट बैङ्क र मेगा बैङ्कको आधारभूत सेयर बाहेकका सेयर कारोबार मङ्गलबारदेखि सुचारु हुने भएको छ।

मर्जर तथा प्राप्ति प्रक्रियामा रहेका कारण छ महिनायता रोक्का रहेका यी बैङ्कको सेयर कारोबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले खुलाउन लागेको हो।

स्टक एक्सचेन्जका अनुसार दुवै बैङ्कको आधारभूत सेयरधनीबाहेकका सेयरधनीको सेयर कारोबार फुकुवा भएर मङ्गलबारदेखि सुचारु हुने भएको हो।

सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि मङ्सिर ४ र ५ गते सार्वजनिक बिदा दिएको हुँदा मङ्सिर ६ देखि नियमित कारोबार हुने नेप्सेले जनाएको छ।

मेगा र इन्भेस्टमेन्ट बैङ्कको सेयर कारोबार ‘धितोपत्र दर्ता गराएका सङ्गठित संस्था एकआपसमा गाभ्ने–गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९’को दफा १३ ९१० बमोजिम गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया रहँदा रोक्का भएको थियो।

नेपाल धितोपत्र बोर्डले सो निर्देशिकालाई संशोधन गर्दै मर्जर तथा प्राप्ति प्रक्रियामा रहेका सङ्गठित संस्थाको सेयर कारोबार एकीकृत कारोबार हुँदा बढीमा १५ दिन मात्रै रोक्का गर्नुपर्ने व्यवस्था गरिसकेको छ।

बोर्डले कात्तिक २४ देखि सो निर्देशिका लागू गरेसँगै आधारभूत बाहेक सर्वसाधारण सेयरधनीको सेयर कारोबार रोक्का नहुने कानुनी व्यवस्था छ।

निर्देशिका अनुसार अब मर्जरमा जाने सङ्गठित संस्थाले आधारभूत सेयरधनीको मात्र सेयर कारोबार रोक्का राख्नुपर्नेछ। निर्देशिका अनुसार आधारभूत सेयरधनीको सेयर कारोबार मर्जर सम्झौता भएको मितिदेखि साधारण सभा सम्पन्न नहुन्जेलसम्मका लागि रोक्का राख्नुपर्नेछ।

सोही अनुसार दुवै बैङ्कको सेयर कारोबार मङ्सिर १ गतेको निर्णय अनुसार फुकुवा भएको नेप्सेले जनाएको छ। मर्जर प्रक्रियामा रहेका दुवै बैङ्कले एक साताअघि सेयर कारोबार फुकुवाका लागि नेप्सेसमक्ष आवेदन दिएका थिए।

यी बैङ्कबीच २०७९ जेठ २७ गते आपसमा मर्जर सम्झौता भएको थियो। त्यसयता यी बैङ्कको सेयर कारोबार रोक्का रहेको छ।