प्रभु बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौ । प्रभु बैंकको ८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज बिहीबार (मंसिर २९ गते) अन्तिम दिन हो । बैंकले साधारण सभा प्रयोजनका लागि पुस १ गते बुक क्लोज गर्दैछ ।
तसर्थ, आजसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । प्रभु बैंकले पुस १४ गते वार्षिक साधारण सभा बोलाएको छ ।
सभा बैंकको केन्द्रीय कार्यालय, बवरमहल, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुनेछ । सभामा बैंकले ६.५० प्रतिशत बोनस सेयर र १.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्नेगाभिने र प्राप्ति गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेन्डा छ ।
साथै, यस बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा छलफल गरी पारित गर्ने तथा संयुक्त प्राप्ति समितिले गरेको निर्णय लगायतका सम्पूर्ण कार्य अनुमोदन गर्ने एजेन्डा छ ।
सभाबाट सेञ्चुरी कमर्सियल बैंकलाई १ः१ सेयर स्वाप रेसियोमा प्राप्तिका लागि अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि रहेको छ ।
वि.सं.२०७९ मंसिर २९ ०८:१३




















