back
stc
prabhu insurance

बीमा प्राधिकरणबाट सानिमा र रिलायन्स लाईफले पाए संयुक्त कारोबारका लागी स्वीकृति

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स र रिलायन्स लाईफ इन्स्योरेन्सले मर्जरको लागि बीमा नियामक नेपाल बीमा प्राधिकरणबाट अन्तिम स्वीकृति पाएका छन् । वित्तीय सम्पत्ति तथा दायीत्व मूल्यांकनसँगै विशेष साधारण सभाबाट मर्जरको एजेण्डा पारित गरेका यी दुबै कम्पनीले संयुक्त कारोबार लागी दिएको निवेदनमा प्राधिकरणले अन्तिम स्वीकृति दिएको हो।

सानिमा लाईफका सूचना अधिकारी गुणराज श्रेष्ठका अनुसार बीमा प्राधिकरणले बिहीबार अन्तिम स्वीकृति दिएको हो ।

प्राधिकरणले चुक्ता पूँजीमा झण्डै दोब्बर वृद्धिको प्रावधान सहित चैत्र मसान्तसम्मको समयसीमा तोकेपछि ५ अर्ब रूपैयाँ चुक्ता पूँजी पुर्याउनुपर्ने बाध्यात्मक अवस्थाकाबीच मर्जरका लागी गत असार २९ गते यी दुबै जीवन बीमकले प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

दुबै कम्पनीले १ः१ को स्वाप अनुपातमा आपसमा गाभ्ने गाभिने सहमति गरेका हुन् । फागुन १२ गते सम्पन्न साधारण सभाबाट दुई कम्पनीले गाभ्ने गाभिने सम्बन्धि प्रस्ताव पारित गरि सकेका छन् ।

रिलायन्स लाईफको चुक्ता पूँजी २ अर्ब १० करोड र सानिमा लाईफको चुक्ता पूँजी २ अर्ब रुपैयाँ छ। गाभिएपछि तत्काल चुक्ता पूँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ। न्यूनत्तम ५ अर्ब रुपैयाँको सीमामा पुग्नका लागी स‌ानिमा रिलायन्स लाईफलाई अझै ९० करोड रूपैयाँ अपुग हुनेछ ।

रिलायन्स लाईफ इन्स्योरेन्समा ताराचन्द अग्रवाल अध्यक्ष रहेको केडिया समूह मुख्य प्रवर्द्धकको रुपमा रहेको छ। यसैगरी सानिमा लाईफमा गैरआवासीय नेपाली समूहको मुख्य लगानी रहेको छ।