back
stc
prabhu insurance

प्रभु लाईफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स आजदेखि एकीकृत कारोबार शुरु गर्दै

काठमाण्डौ‌। प्रभु लाईफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले शुक्रबाट एकीकृत कारोबार शुरु गर्दैछन् । दुबै कम्पनीलाई प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सञ्चालन गर्नका लागी नेपाल बीमा प्राधिकरणले अन्तिम स्वीकृति प्रदान गरिसकेको छ।

एकीकृत कारोबार प्रारम्भको घोषणा भएपनि साउन १ गतेदेखि मात्र सर्वसाधारणले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सबाट सेवा प्राप्त गर्न सक्नेछन् ।

दुबै कम्पनीको कारोबार सम्बन्धी तथ्या‌ंकलाई एकीकृत गर्नुपर्ने भएकाले तीन दिनसम्म सेवा अवरुद्ध हुने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ।

गत जेठ २६ गते सम्पन्न दुबै जीवन बीमकको वार्षिक साधारण सभाले एकीकृत कारोबार गर्ने विशेष प्रस्ताव पारित गरेको थियो । प्राधिकरणले एकीकृत कारोबार सञ्चालनका लागी जेठ २९ गते अन्तिम स्वीकृति प्रदान गरेको हो ।

एकीकृत कम्पनीको प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई रहनेछन्, उनी महालक्ष्मी लाईफका प्रमुख कार्यकारी अधिकृत हुन् ।

सञ्चालक समिति अध्यक्ष पदमा प्रभु लाईफ इन्स्योरेन्सको प्रवर्द्धकहरूबाट शिक्षा भट्टचन रहने सहमति छ । उनी हालै प्रभु लाईफ इन्स्योरेन्सको अध्यक्ष पदमा निर्वाचित भएकी हुन् ।

दुबै जीवन कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनत्तम चुक्ता पूँजी पुर्याउनुपर्ने बाध्यात्मक अवस्थाकाबीच एक वर्ष अघि २०७९ असार २९ गते मर्जरका लागी प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए ।

बराबरी हैसियतमा मर्जर भएकाले शेयरधनीको शेयर स‌ंख्या घटबढ हुने छैन । मर्जर पछि संयुक्त कम्पनीको चुक्ता पूँजी ४ अर्ब १९ करोड ६० लाख रूपैयाँ पुग्नेछ ।

नेपाल बीमा प्राधिकरणले तोकेको ५ अर्ब रूपैयाँ चुक्ता पूँजी कायम गर्न एकीकृत कम्पनीलाई थप ८० करोड ४० लाख रुपैयाँ आवश्यक पर्नेछ।