चीनसँग ‘क्रस बोर्डर ट्रान्समिटर लाइन’ बनाउने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय युवा दिवस, २०२३ का अवसरमा आयोजना गरेको सप्ताहव्यापी समापन कार्यक्रममा सम्बोधन गर्दै आफ्नो चीन भ्रमणमा चीन सरकारसँग नेपालमा कृषि, पशुपालनसँगै ठूला आयोजना निर्माणमा हस्ताक्षर हुने बताएका छन् ।
त्यसका साथै भौतिक पूर्वाधार र विद्युतका क्षेत्रमा पनि केही नयाँ सहमति र समझदारी हुने स्थिति रहेको खुलासा गरेका छन । उनले भनेका छन ‘हामीले जसरी भारतसँग क्रसबोर्डर ट्रान्समिटर लाइन बनाएर विद्युत् हामीलाई चाहिने उताबाट ल्याउने र धेरै हुँदा उता दिने भन्ने बनाएका छौँ ।
अब चीनसँग पनि रसुवा नाकाबाट क्रसबोर्डर ट्रान्समिटर लाइन बनाउने कुरामा सहमति हुनेछ। चीन भ्रमणको समयमा त्यसमा हस्ताक्षर हुने विश्वास छ ।’
प्रधानमन्त्री दाहालले आफू संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन जाने बताएका छन । उनले भने त्यतिबेला पनि नेपालको कृषि, उद्योग, पर्यटन व्यवसायको विकासका निम्ति नै हाम्रो ध्यान केन्द्रित हुनेछ । अहिले ठूलाठूला परियोजनामध्ये बूढीगण्डकीदेखि कर्णाली चिसापानीलाई अगाडि बढाउनेबारेमा पनि सरकारले ठोस निर्णय गर्ने बताएका छन ।
एउटै परियोजनाबाट १० हजार मेगावाट बिजुली उत्पादन गर्न सकियो भने ग्याम चेन्जर हुने प्रधानमन्त्री प्रचण्डको विश्वास थियो । उनले भने, ‘नेपालको अर्थतन्त्रमा ठूलो क्रान्ति ल्याउने परियोजना हुन सक्छ ।’
बूढीगण्डकीको प्रक्रिया सुरु गर्न कार्यालयको उद्घाटन र अब छिट्टै शिलान्यास गर्ने र त्यसलाई पनि अघि बढाउने योजना रहेको प्रधानमन्त्री प्रचण्डले बताए । सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको नारालाई मुख्य नारा बनाएर काम कारबाही अघि बढाएको बताए । सुशासन मात्रै नभएर जनताका प्रत्यक्ष सरोकारका विषयलाई सहजीकरण गर्न पनि सरकारका तर्फबाट लगातार प्रयास भइरहेको उल्लेख गरेका छन।
प्रधानमन्त्री दाहालले आउने दिनमा नेपालले कोल्टे फेर्दै जाने र विकासले गति लिने विश्वास व्यक्त गरेका छन । उनले भने, ‘नेपालमा हर हालतमा सुशासन, बेथिति र भ्रष्टाचारको अन्त्य हुनैपर्छ, तल परेको समुदायलाई माथि ल्याउने कार्यक्रम ल्याउनुपर्छ ।’
प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफ्नो गम्भीर कुराकानी भएको उल्लेख गर्दै उनले प्राकृतिक खेती या उत्पादन वृद्धि गर्ने सबै प्रविधिको सदुपयोग र सहकार्य गर्नेबारेमा केही समझदारी बनेको बताए ।
उनले भने, ‘मैले नेपालकोतर्फबाट एउट टोली छिट्टै भारत पठाउँदैछु । कृषि उत्पादन वृद्धि गर्नका निम्ति र सहकार्यका निम्ति ।’ नेपालमा मल कारखाना निर्माण गर्नेबारे सैद्धान्तिक सहमति गरेको प्रचण्डले जानकारी दिएका छन ।
अहिले भारत र बंगलादेशसँग जलविद्युतका सम्बन्धमा सहमति भएको प्रधानमन्त्री दाहालले बताएका छन । उनले भने, ‘छिट्टै काठमाडौँमा विशेष समारोह सहित घोषणा गर्दैछौँ ।’
आफू इटाली जाँदा रोममा बंगलादेशका प्रधानमन्त्रीसँग कुरा हुँदा पनि नेपालको विद्युत् र कृषिका क्षेत्रमा लगानी गर्नसक्ने सम्भावनाबारे कुराकानी भएको प्रचण्डले बताए ।
वि.सं.२०८० साउन २८ ११:१०




















