back
stc
prabhu insurance

आन्तरिक राजस्व कार्यालय सिरहामा लक्ष्यभन्दा कम राजस्व सङ्कलन

काठमाडौँ ।आन्तरिक राजस्व कार्यालय सिरहाले आर्थिक वर्ष २०८०/८१ मा रु एक अर्ब ८६ करोड ९८ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले  राजस्व  सङ्कलनको वार्षिक लक्ष्य रु दुई अर्ब २८ करोड ८३ लाख ३५ हजार पाएको थियो । तर कार्यालयले लक्ष्यभन्दा १९ दशमलव ३१ प्रतिशत कम राजस्व सङ्कलन गरेको छ ।

आन्तरिक राजस्व कार्यालयले आयकरबाट रु ५७ करोड ६३ लाख ३४ हजार, भाडा आयकरबाट रु. एक करोड ९७ लाख ९३ हजार, ब्याज बापत रु एक करोड ४६ लाख ९४ हजार, मूल्य अभिवृद्धि करबापत रु ३८ करोड ७१ लाख ९० हजार तथा अन्तःशुल्क बापत रु ८७ करोड चार लाख ५४ हजार, स्वास्थ्य क्षेत्रबाट रु चार लाख आठ हजार, शिक्षा क्षेत्रबाट रु. दुई लाख १६ हजार तथा अन्य क्षेत्रबाट रु सात लाख ९० हजार राजस्व सङ्कलन गरेको आन्तरिक राजस्व कार्यालय लहानका प्रमुख कर अधिकृत पुण्यप्रसाद रिजालले जानकारी दिनुभयो ।

कार्यालयले आर्थिक वर्ष २०७९/८० मा रु. एक अर्ब ८२ करोड ३३ लाख ६७ हजार राजस्व सङ्कलन गरेको थियो । गत आर्थिक वर्षमा कार्यालयको रु. दुई अर्ब २३ करोड ४३ लाख ५८ हजार राजस्व उठाउने लक्ष्य थियो । तर ८१ दशमलव ६१ प्रतिशत मात्र राजस्व सङ्कलन गरिएको थियो ।

उहाँले भन्नुभयो, “देशभर व्यापार व्यवसायमा गिरावट, व्यापार बन्द लगायत कारणले राजस्व सङ्कलनमा कमी आएको हो । जिल्लामा विकास निर्माणका आयोजनामा चालु आवमा कम भुक्तानी हुँदा मूल्य अभिवृद्धिकरबापत हुने आम्दानी समेत घटेको छ ।”

गत आर्थिक वर्षमा मूल्य अभिवृद्धिकर बापत रु ४२ करोड ३५ लाख ५८ हजार राजस्व सङ्कलन भएको थियो भने आव २०८०/८१ मा रु ३८ करोड ७१ लाख ९० हजार सङ्कलन भएको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ का लागि रु दुई अर्ब २८ करोड ८३ लाख ३५ हजार राजस्व सङ्कलनको वार्षिक लक्ष्य पाएको प्रमुख कर अधिकृत रिजालले बताउनुभयो ।