back
stc
prabhu insurance

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (जेठ १४ गते) अन्तिम दिन रहेको छ। आठौं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले जेठ १६ गते बुक क्लोज गर्दैछ।

जेठ १५ गणतन्त्र दिवसको सार्वजनिक बिदा भएकाले आजसम्म कायम शेयरधनी मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन्।

कम्पनीले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ०.४२१ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पारितका लागि यही जेठ २६ गते काठमाडौंस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सभा बस्दैछ।

त्यसैगरी कम्पनीको सातौं वार्षिक साधारण सभाले ७ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेकोमा बोनस शेयर वितरणपछि नियामक निकायले तोकेको चुक्ता पूँजी पुग्ने भएकाले उक्त निर्णय रद्द गर्नेछ।

यसका साथै गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्ष नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्नेछ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव पनि सभामा लागि तय गरिएका छन्।