back
prabhu insurance
himalayanlife

टेस्लाले नयाँ पुस्ताको रोडस्टर अक्टोबर १ मा लन्च गर्ने

टेस्लाले नयाँ पुस्ताको टेस्ला रोडस्टर अक्टोबर १ मा लन्च गर्ने घोषणा गरेको छ । टेस्लाको आधिकारिक एक्स अकाउन्टले अक्टोबर १ को मिति उल्लेख गर्दै लन्चका लागि तयार भन्ने सन्देशसहित रोडस्टरको टिजर सार्वजनिक गरेको थियो। त्यसको जवाफमा एलोन मस्कले नयाँ टेस्ला रोडस्टर अक्टोबर १ मै लन्च गरिने पुष्टि गरेका छन्।

टेस्ला रोडस्टर लन्चको समयमा नै कम्पनीले रोडस्टरको लिमिटेड एडिशन भेरियन्ट पनि प्रदर्शन गर्न सक्ने अनुमान गरिएको छ।

नयाँ रोडस्टरमा स्पेसएक्ससँग सम्बन्धित टेक्नोलोजी पनि प्रयोग गरिने चर्चा चलेको छ । रिपोर्टका अनुसार कारमा कोल्ड ग्यास थ्रस्टर जडान गर्नेछ । सो प्रविधिको प्रदर्शन टेक्सासको म्याकग्रेगरमा रहेको स्पेसएक्सको रकेट परीक्षण केन्द्रमा हुनेछ।

टेस्लाले नेक्स्ट जेनेरेशनको रोडस्टर पहिलोपटक सन् २०१७ मा सार्वजनिक गरेको थियो। त्यतिबेला कम्पनीले सन् २०२० देखि यसको डेलिभरी सुरु गर्ने लक्ष्य राखेको थियो। तर उत्पादन, प्रविधि विकास र अन्य चुनौतीका कारण निर्धारित समयमै कार बजारमा आउन सकेन। त्यसपछि रोडस्टरको लन्च पटक–पटक पछाडि सर्दै आएको थियो।

यस अवधिमा रोडस्टरको विकास प्रक्रियामा पनि ठुलो परिवर्तन गरिएको छ । सुरुमा टेस्लाले यसमा मोडल एस प्लेडका केही कम्पोनेन्टमा आधारित कार विकास गर्ने योजना बनाएको थियो। तर पछि उक्त अवधारणा परिवर्तन गर्दै नयाँ कारलाई अझ उच्च प्रदर्शनमा केन्द्रित नयाँ कार्बन फाइबर हाइपरकारका रूपमा विकास गरिएको छ।