चिनीको अस्वाभाविक मूल्यबारे निगरानी
काठमाडौँ । उपत्यकाको बजारमा खाना पकाउने एलपी ग्याससँगै चिनीमा कालोबजारी हुन थालेको गुनासो आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निगरानी बढाएको छ । बजारमा चिनीको अभाव भएको र महँगो तिरे मात्रै पाइने भनेर गुनासो व्यापक बढेपछि निगरानी बढाउन थालेको हो ।
उपभोक्ताले चिनी प्रतिकेजी १६० रुपियाँ पुगेको भन्ने गुनासो गरेपछि विभागको बजार अनुगमनमा अधिकांशमा चिनी नै राख्न छोडेको पाइएको र केहीले प्रतिकेजी १४० रुपियाँमा बिक्री गर्ने गरेको पाइएको विभागले जनाएको छ ।
विभागका निर्देशक अनिल किराँतीले विभागको अनुगमन टोली कति मूल्यमा बिक्री गरे भनेर हेर्नेभन्दा पनि खरिद मूल्य २० प्रतिशतभन्दा बढी लिएको पाइएमा कारबाही गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार अनुगमनमा प्रतिकेजी १३० रुपियाँ भन्नुहुन्छ, तर त्यो प्रमाणित गर्ने बिलबीजक देखाउन नसक्नेलाई आर्थिक जरिबाना गरिएको छ ।
विभागका अनुसार चिनीको आपूर्ति व्यवस्था सहज बनाउन र कालोबजारी नियन्त्रणलाई थप प्रभावकारी बनाउन विभागले साल्ट ट्रेडिङ कर्पोरेसनसँग समन्वय गरी मौज्दात र वितरण प्रणालीलाई चुस्त बनाउने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट पहल भइरहेको छ । देश अप्ठ्यारो अवस्थामा हुँदा पनि व्यापारीले बजारमा अनुचित नाफाखोरी, कृत्रिम अभाव सिर्जना गर्ने नियत राख्ने जो कोहीलाई उपभोक्ता संरक्षण ऐन अनुसार कडा कारबाही गरिने निर्देशन किराँतीको भनाइ छ ।
विभागका अनुसार उपभोक्ता हितविपरीत महँगो चिनी र अन्य खाद्यान्न बिक्री गर्ने विभिन्न पाँच वटा फर्मलाई जरिबाना गरेको जनाएको छ ।
वि.सं.२०८३ भदौ ३१ ०७:१५




















