साना चार पाङ्ग्रे र मोटरसाइकलको माग बढयो,सवारी साधन खरिदमा विभिन्न छुट स्किम

काठमाडौं । बजारमा दसैंको चहलपहल सुरु भएको छ । दसैं सकिँदा–नसकिँदै तिहार र छठपर्वको रौनक पनि सुरु हुन थाल्छ । दशैं अगाडि अटो मेला हुन नसके पनि व्यवसायीले दुईपांग्रे र चारपांग्रे सवारीमा विभिन्न छुट र अफर योजना ल्याएका छन् । कोभिडका कारण गत वर्ष घटेको अटो व्यवसाय यस वर्ष भने उत्साहजनक रहेको व्यवसायीहरू बताउँछन् ।
अटोमोवाइल कम्पनीहरूका बिक्री कक्ष यति बेला सजिसजाउ र झकिझकाउ छन् । छुट र नयाँनयाँ योजनाले ग्राहक आकर्षित गरिरहेका छन् ।
गत वर्षको तुलनामा यस वर्ष चारपांग्रे सवारीको माग अलिक धेरै बढेको छ । अघिल्लो दसैंमा कोभिडले अटो व्यवसायीलाई गाह्रो पारेको थियो।
अहिले जोखिम कायमै रहे पनि बजार बढेको छ । तर चारपांग्रे सवारीको मागअनुसारको आयात भएको छैन ।
गत वर्षको तुलनामा यो वर्ष व्यापार दोब्बर बढेको अटोमोवाइल व्यवसायीहरू बताउछन् । त्यसमा पनि सबैभन्दा धेरै माग विद्युतीय सवारीको रहेको देखिन्छ ।
विधुतिय सवारीमा ५ सय वटा गाडीको माग हुँदा ५० वटाको मात्र आयात भएको अवस्था रहेको छ। माग धेरै भएको छ। कोभिडका कारण भारत लगायत विदेशी मुलुकमा उत्पादन कम हुँदा आयात हुन सकेको छैन ।
अब त्यहाँ विस्तारै उत्पादन बढ्दै जाने र यहाँ पनि अनुसार आयात पनि बढ्ने नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले बताए । गत असार मसान्तसम्मको तथ्यांक अनुसार गत वर्षको तुलनामा आयात ७० प्रतिशत बढेको दुलालले जानकारी दिएका छन् ।
चारपांग्रे मात्र होइन, चाडबाडका बेला दुईपांग्रेको बजार पनि राम्रैसँग बढेको छ । दुईपांग्रे आयात पनि गत वर्षको तुलनामा करिब ८० प्रतिशत बढेको छ।
चाडबाडले बजार तातेको छ। एक(दुई महिनामा थप उत्पादन बढ्ने छ। चाडपर्वको मौका पारेर विभिन्न अटो कम्पनीहरूले थरीथरीका छुट र बम्पर उपहार योजना ल्याएका छन् ।
दुईपांग्रे सवारी साधन अन्तर्गत बजाज, टीभीएस, हिरो, सुजुकी र बेनेलीका मोटरसाइकल तथा स्कुटरमा छुट योजना राखिएको छ ।
त्यस्तै ड्याट्सन, हुन्डाई र ग्रेट वाल मोटर्सका गाडीमा दसैंतिहार लक्षित छुट तथा उपहार योजना अघि सारिएको छ ।
बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द्र एन्ड कम्पनीले ‘बजाज खुसीको ३ डोज’ योजना ल्याएको छ । टीभीएस दुईपांग्रे मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टीभीएस छ प्राइजको सरप्राइज’ र हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले ‘हिरोको बेला हिरोको मेला’ अफर ल्याएको छ ।
सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक बित्रेता भीजी अटोमोबाइल्सले ‘दसैं आयो, उमंग छायो, क्यासब्याका साथै बम्पर पायो’ र बेनेलीको आधिकारिक बिक्रेता केटीएम इन्टरनेसनल ट्रेडिङले ‘थ्री एक डिस्काउन्ट फिएस्टा’ नामक उपहार तथा छुट योजना ल्याएका हुन् । कम्पनीका यी योजना छठपर्वसम्म लागू हुने जनाइएको छ ।
बजाजका मोटरसाइकल खरिद गर्नुअघि १० हजार रुपैयाँसम्मको अग्रिम नगद छुट पाउन सकिनेछ । बजाजका मोटरसाइकल खरिदमा एक लाख रुपैयाँसम्मको नगद छुट र बम्परमा १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिदमा एक लाख रुपैयाँसम्म जित्न सक्ने अवसर राखिएको छ ।
हरेक दिन रियलमी सी २० स्मार्टफोन समेत हात पार्न सक्ने कम्पनीले जनाएको छ । हिरोले भने आफ्ना मोटरसाइकल तथा स्कुटरमा फाइनान्सको सुविधा राखेको छ, जहाँ शून्य प्रतिशत ब्याजमा ५० प्रतिशत फाइनान्स सुविधा उपलब्ध हुने कम्पनीले बताएको छ ।
हिरो कम्पनीका मोटरसाइकल तथा स्कुटर खरिदमा ६ हजार रुपैयाँ र स्क्र्याच कार्डमार्फत १ लाख रुपैयाँसम्म नगद छुट पाइनेछ । बम्पर लक्की ड्रमार्फत एक जनाले एक लाख रुपैयाँ नगद उपहार पाउने कम्पनीले जनाएको छ ।
सुजुकीको मोटरसाइकल तथा स्कुटर खरिदमा एक वर्षका लागि सवारी कर, फाइनान्स र एक्सचेन्ज सुविधा छ । योजनाअनुसार सुजुकीका मोटरसाइकल तथा स्कुटर खरिदमा १० हजार रुपैयाँ नगद छुट पाइनेछ ।
बेनेलीको मोटरसाइकल खरिदअघि,खरिद गर्दा र खरिदपछि तीन पटकसम्म छुट पाइन्छ । पहिलो ई–डिस्काउन्टअन्तर्गत मोटरसाइकल खरिदअघि नै घरैबाट समेत क्युआर कोड स्क्यान गर्न सकिनेछ । यसरी स्क्यान गर्दा १ लाख रुपैयाँसम्म जित्न सकिने कम्पनीले जनाएको छ ।
चारपांग्रेतर्फ ड्याट्सनको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले ‘ड्याटसन फेस्टिभ हट डिल’, हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई फेस्टिझ डिलाइट २०७८’ र ग्रेटवाल मोटर्सको आधिकारिक बित्रेता भीजी इम्पेक्सले ‘चाडपर्वको उमंग ‘हेभल र पोयर चढी दंग’ योजना ल्याएका छन् ।
ड्याट्सन खरिद गर्दा २० लाख ४ हजार १ सय ५२ रुपैयाँ बराबरको विशेष छुट सुविधा, १ लाख २५ हजार रुपैयाँ नगद छुट र २७ हजार ९ सय ९९ रुपैयाँ मूल्य पर्ने रेडमी नोट १० एस पाइन्छ ।
त्यस्तै एक वर्षको बिमा तथा सवारी कर, वारेन्टी तथा सर्भिसिङ सुविधा उपलब्ध गराउने कम्पनीले बताएको छ । ड्याटसनको गाडीमा फाइनान्स र एक्सचेन्जको सुविधा पनि छ ।
हुन्डाई गाडीको खरिदमा लक्की ड्र मार्फत एक जनाले बम्पर उपहारमा नयाँ हुन्डाई आई २० गाडी, ३ लाख रुपैयाँसम्म थप नगद छुट र एक वर्षसम्मको बिमा निःशुल्क तथा सडक कर पाउने कम्पनीको योजना स्किम रहेको छ ।
ग्रेटवालले ल्याएको योजनाअनुसार दुई एसयूभी सवारी तेस्रो जेनेरेसनको हेभल एच ६ र हेभल जुलियनका साथै पोयर पिकअपमा ६ लाख रुपैयाँसम्मको फाइदा लिन सकिनेछ । यी सवारी खरिदमा एक वर्षको निःशुल्क सडक कर, विस्तृत बिमा र फाइनान्सको सुविधा रहेको कम्पनीले जनाएको छ ।
नेपालका लागि प्रोटोन सागाको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले पनि ‘दसैं दक्षिणा’ योजना ल्याएको छ । योजना अन्तर्गत ग्राहकले प्रोटोनको सागा र एक्स ७० गाडी खरिदमा एक लाखदेखि ६ लाख रुपैयाँसम्मको अफरयुक्त ‘दक्षिणा’ पाउने कम्पनीले जनाएको छ ।
यस अन्तर्गत कुनै पनि ब्रान्डका पुरानो गाडीसँग नयाँ प्रोटोन एक्सचेन्ज गरे ग्राहकले ५० हजारदेखि २ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस पाउने पनि कम्पनीको दावी रहेको छ ।
वि.सं.२०७८ असोज १० १९:१०