एनआइसी एसिया बैंकको आज असार ६ गतेदेखि ऋणपत्र बिक्री खुला
काठमाडौं । एनआइसी एसिया बैंकले आज असार ६ गते आइतबारदेखि ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्री खुला गरेको हो ।
बैंकले १ हजार रुपैयाँ अंकित मूल्यमा ३० लाख कित्ता ‘एनआइसी ऋणपत्र २०८८’ जारी गरेको हो । यसमध्ये १२ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । बाँकी १८ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
यसमा वार्षिक ८.५ प्रतिशत ब्याजदर पाइने छ । यस ऋणपत्रमा असार ९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै ऋणपत्र बिक्री नभएमा असार २० गतेसम्म बिक्री खुला हुनेछ । यसमा न्यूनतम २५ कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिन्छ । यसमा बिक्री प्रवन्धकको काम सनराइज क्यापिटलले गरेको छ ।
बैंकले निष्कासन गर्न लागेको ऋणपत्रलाई कियर रेटिङ नेपालले कम जोखिम जनाउने कियर एनपी सिंगल ए रेटिङ प्रदान गरेको छ ।
यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ । पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी जुटाउन ऋणपत्रलाई पनि आधार बनाउन थालेका छन् ।
वि.सं.२०७८ असार ६ ०८:०९