back
stc
prabhu insurance

बाणिज्य बैंकहरूले कर्जा नोक्सान उठाउदै

काठमाडौं । असारमा कर्जा नोक्सानी व्यवस्था राम्रो गर्ने बैंकहरुले गत भदौ १५ गते सम्ममा पूरै असूली गरेका छन् । यसबीचमा नउठेको ब्याज इन्ट्रेस्ट सस्पेण्ड समेत राम्ररी असूली गरेका छन् ।

यसले गर्दा ठूलो परिमाणमा कर्जा नोक्सानी व्यवस्था गर्ने बैंकहरुले गत बर्षको नाफाबाट डेढदेखि २ प्रतिशतसम्मले लाभांश दिने क्षमतामा वृद्धि गर्न सफल भएको सम्बद्ध बैंकहरुले जानकारी दिएका छन् ।

राष्ट्र बैंकले भदौ १५ गते सम्ममा ब्याज उठाउन र कोभिड प्रभावित कर्जा आगामी पुस मसान्तसम्ममा पुनर्संरचना गरी असल कर्जाको रुपमा वर्गिकरण गर्न दिने व्यवस्था गरिदिएको भरपुर फाइदा बैंकहरुले लिन सफल भएका छन् ।

राष्ट्र बैंकले दिने सुविधाबारे थाहा पाएका सरकारी तथा केही निजी बैंकहरुले कर्जा नोक्सानी व्यवस्था कम गरेका थिए ।

यस पटक सबैभन्दा बढी एनआईसी बैंक लि।ले ११९ करोड प्रोभिजन गरे पनि कर्जा विस्तारको तुलनामा अझै कम नै रहेको छ । नेपाल राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था अनुसार थप्नुपर्ने ०.३ प्रतिशतले मात्र पनि यस बैंकले करिव ८० करोड रुपैयाँ बराबरको नोक्सानी व्यवस्था गर्नुपर्ने हुन्छ ।

यथार्थमा आधारित लेखापरीक्षण गर्ने हो भने यस बैंकको खराब कर्जा बढेर करीब ८ प्रतिशत पुगिसकेको बताइएको छ ।

११८ करोड रुपैयाँ प्रोभिजन गरेको ग्लोबल आईएमई बैंकले करिव आधा रकम पुनर्संरचना गरी असुल गरेको छ । त्यस्तै अन्य बैंकमध्ये सिद्दार्थ बैंक लि।ले रु. ८६ करोड प्रोभिजन गरेको थियो ।

यसमध्ये करीव आधा रकम पुनर्संरचनामार्फत् राइट ब्याक भएको र केही नउठेको ब्याज समेत असली गरेको जनाइएको छ ।

यसले गर्दा सो बैंकको लाभांश दिने क्षमता अढाई प्रतिशतले बढेको देखिएको छ । अर्को बढी प्रोभिजन राख्ने मेगा बैंकले रू. ८४ करोड राखेकोमध्ये आधा रकम पुनर्संरचना मार्फत् असल कर्जामा रुपान्तरण गरेको जनाइएको छ ।

त्यसैगरी, प्राइम बैंकले ७८ करोड गरेको छ । र, यस बैंकले पनि प्रोभिजनको आधा रकम राइट बैंक गरी ब्याज समेत असूली गरेको जनाइएको छ ।

प्रोभिजन गर्ने अन्य बैंकहरुमा सिटिजन्स बैंकले ७२ करोड, नबिल बैंकले ६५ करोड, लक्ष्मी बैंक  र सेञ्चुरी कमर्सियल बैंकले ५६ करोड, कुमारी बैंकले ५४ करोड, माछापुच्छ्रे बैंक ४९ करोड, नेपाल बैंक र एनसीसी बैंक  ४१ करोड, एनएमबी बैंक  ३८करोड, इन्भेष्टमेन्ट बैंकले ३७ करोड रहेका छन् ।

यसबीचमा २८ करोड मात्र प्रोभिजन गरेको सानिमा बैंकले नउठेको ब्याज चाहि धेरै उठाएको सो बैंकले जनाएको छ ।