विकास बैंकको कर्जा लगानी बढदै

काठमाडौं । कर्जा विस्तारमा विकास बैंकहरु आक्रामक बनेका छन् । तरलता अभावका बाबजूद विकास बैंकहरुले उल्लेख्य मात्रका कर्जा ऋण लगानी गरेका छन् ।
डेभलपमेन्ट बैंकर एशोसिएसन नेपालका अनुसार गत साता भदौ १९ गतेदेखि २५ गतेसम्म मात्र विकास बैंकहरुले ३ अर्ब १४ करोड ९९ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । यो सोही अवधिमा संकलन गरेको निक्षेपको तुलनामा ४ गुणा बढी हो ।
गत सातामा विकास बैंकहरुले जम्मा ७३ करोड निक्षेप संकलन गरेका थिए । एक साताको अवधिमा १५ वटा विकास बैंकहरुले ७३ करोड १४ लाख रुपैयाँ निक्षेप थपेका थिए । गत साता राष्ट्रिय स्तरका विकास बैंकहरुको निक्षेप संकलन ०.२४ प्रतिशतले वृद्धि भएको छ भने कर्जा विस्तार ०।७९ प्रतिशतले बढाउन सफल भएका छन् ।
यसैगरी सोही अवधिमा क्षेत्रिय स्तरका विकास बैंकको निक्षेप ०.३५ प्रतिशतले घटेको छ भने कर्जा ०.३८ प्रतिशतले बढेको छ ।
भदौ २५ गतेसम्म विकास बैंकहरुको कुल निक्षेप ४ खर्ब ८९ अर्ब २८ करोड १२ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी ४ खर्ब ३६ अर्ब २३ करोड ५७ लाख रुपैयाँ रहेको बताइएको छ ।
डेभलपमेन्ट बैंकर एशोसिएसनका अनुसार हाल १८ वटा विकास बैंक सञ्चालनमा रहे पनि यहाँ १५ वटाको मात्रै तथ्यांक समावेश गरिएको छ ।
उक्त तथ्याकंमा विजनेश कर्पोरेट डेभलपमेन्ट बैंक, सहारा विकास बैंक र साल्पा विकास बैंकको तथ्याकं समावेश गरिएको छैन् । यी विकास बैंकले तथ्यांक पठाइ सकेका छैनन।
वि.सं.२०७८ भदौ ३० १४:४६