back
stc
prabhu insurance

वाणिज्य बैंकको निक्षेपको ब्याजदर सिंगल डिजीटमै राख्ने सहमति

काठमाडौं । वाणिज्य बैंकहरुबीच निक्षेपको ब्याजदर सिंगल डिजीटमै अर्थात ९ अंक भित्र सीमित राख्ने सहमति भएको छ । वाणिज्य बैंकका सीइओहरुको छाता संगठन नेपाल बैंकर्स एशोसिएसन (एनबीए)का अधिकारीहरुले यस्तो जानकारी दिएका छन्।

वाणिज्य बैंकका सीइओहरुबीच निक्षेपको ब्याजदर सिंगल डिजीटमै सीमित राख्नुपर्छ भन्ने विषयमा भद्र सहमति भएको र सोही सहमतिको कार्यान्वयन गर्ने क्रममा वाणिज्य बैंकहरुले ब्याजदर घटाएको उनीहरुले बताएका छन् ।

बाणिज्य बैंकका एक प्रमुख कार्यकारी अधिकृतले भने( संभवत कुनै पनि वाणिज्य बैंकको निक्षेपको ब्याजदर सिंगल डिजीटलाई क्रस गर्ने छैन । कम्तीमा हामी नेतृत्व गर्ने बैंकहरुले चाहिं निक्षेपको ब्याजदर सिंगल डिजीटमै सीमित राखेर अस्वस्थ प्रतिस्पर्धा रोक्नुपर्छ भन्ने विषयमा हामीबीच सहमति भएको थियो ।

सोही सहमतिको कार्यान्वयन गर्दै केही वाणिज्य बैंकले असोजको तुलनामा कात्तिक १ गतेदेखि लागू हुने गरी नयाँ दर घटाएका छन् ।

असोज १ गतेदेखि कतिपय वाणिज्य बैंकहरुले आक्रामक रुपमा निक्षेपको ब्याजदर बढाए पनि त्यसले नयाँ निक्षेप खासै आउन नसकेको बताइएको छ । यताको निक्षेप उता, उताको निक्षेप यता आउने बाहेक नयाँ केही पनि भएन ।

त्यसकारण अस्वस्थ ढंगले ब्याजदर बढाएर पनि खासै केही फरक नपर्ने अवस्था बुझेका कारण समेत बैंकहरु कात्तिकमा आक्रामक नहुँने भएका हुन् ।

तिहार र छैठ पर्वको अवसरमा तराईमा रेमिटान्स बढी भित्रिने, सरकारले समेत आक्रामक रुपमा खर्च गरिरहेको लगायतका कारणले दोश्रो त्रैमासको पहिलो महिना कार्तिकमा ‘पर्ख र हेर’को रणनीति अनुसार ब्याजदरमा वाणिज्य बैंक आक्रामक नभएको बताइन्छ ।