विद्युत प्राधिकरणमा व्यापक सरूवा,पुरै प्राधिकरण कुलमान घिसिङकरण
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका ११ओैं तहका चार जना निर्देशक सहित १४ उच्चपदस्थ पदाधिकारीको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ । प्राधिकरणको नेतृत्वमा दोस्रो पटक कुलमान घिसिङ आएको करिब डेढ साताभित्र यी कर्मचारीको सरुवा गरिएको हो । यसले प्राधिकरणमा व्यापक असन्तुष्टि छाएका छन्।
प्राधिकरणका अनुसार सरुवा हुने निर्देशकहरूमा प्रदेश २ का निर्देशक चन्द्रशेखर चौधरी, २२० केभी प्रसारण लाइन आयोजनाका राजन ढकाल, आयोजना व्यवस्थापन निर्देशनालय (पिएमडी) अन्तर्गत १३२ केभीका दुई आयोजना हेर्ने नवराज ओझा र उत्पादन विकास आयोजना संस्थागत सुदृढीकरण आयोजनाकी चन्दा न्यौपाने रहेका छन् ।
चौधरी, ढकाल, ओझा र न्यौपानेको क्रमशः प्राविधिक सर्पोट विभाग, प्रदेश १ प्रादेशिक निर्देशक, लुम्बिनी प्रदेशको प्रादेशिक निर्देशक तथा पिएमडी अन्तर्गतका विभिन्न आयोजनामा सरुवा गरिएको छ । यस्तै, १० ओैं तहका ९ जना र ९ ओैं तहका एक जना कर्मचारीको सरुवा भएको छ ।
प्रदेश १ प्रादेशिक कार्यालय विराटनगरका टेकनाथ तिवारीलाई त्यहाँबाट ४०० केभी प्रसारण लाइनहरू हेर्ने गरी जिम्मेवारी तोकिएको छ ।
यस्तै, पिएमडीका केदारराज सिलवाललाई गण्डकी प्रादेशिक कार्यालयको प्रमुख, जंगबहादुर चन्दलाई विद्युत चुहावट नियन्त्रण महाशाखाबाट सुदूरपश्चिम प्रादेशिक प्रमुख, श्रीराम पोखरेललाई गण्डकी प्रादेशिक प्रमुखबाट ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण महाशाखामा सरुवा गरिएको छ ।
यसैगरी तारानाथ शर्मालाई कार्यकारी निर्देशकको कार्यालयबाट संस्थागत योजना तथा अनुगमन विभागमा, लुम्बिनी प्रादेशिक प्रमुख मुनिन्द्र ठाकुरलाई प्रदेश २ प्रादेशिक प्रमुखमा, त्रिशूली–३ ‘बी’ हब २२० केभी सबस्टेसन आयोजना प्रमुख थर्कबहादुर थापालाई बृहत २२० केभी प्रसारण लाइन आयोजनामा सरुवा गरिएको प्राधिकरण स्रोतले बतायो ।
उता सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाका जगदीशचन्द्र जोशीलाई कार्यकारी निर्देशकको सचिवालयको प्रमुखमा, प्राविधिक सर्पोट विभागका अनिरुद्ध पौडेललाई उत्पादन विकास विभागको प्रमुख र इनर्जी इफिसियन्सी महाशाखाका प्रमोद रिजाललाई हाल गरी आएको जिम्मेवारी सहित चुहावट नियन्त्रण विभाग अन्तर्गत सडक बत्ति प्रवर्द्वन आयोजनाको प्रमुखको जिम्मेवारी तोकिएको छ ।
गत साउन २५ गतेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई दोस्रो कार्यकालका लागि प्राधिकरणको नेतृत्वमा पठाउने निर्णय गरेको थियो । उनले साउन २७ गते नियुक्ति बुझेर प्राधिकरणमा पदबहाली गरेका थिए ।
त्यसको दुई दिनपछि अर्थात् साउन २९ गते नै ४ उपकार्यकारी निर्देशकहरू हरराज न्यौपाने, रामजी भण्डारी, मनोज सिलवाल र मदन तिम्सिनाको सरुवा तथा जिम्मेवारी हेरफेर गरेका थिए ।
घिसिङले यस अघिका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गरेको सरुवालाई काम गर्ने टिम बनाउनुपर्ने भन्दै धमाधम उल्ट्याएका छन् । पिएमडीको उपकार्यकारी निर्देशकको जिम्मेवारीमा रहेका भण्डारीको ४ महिनामै सरुवा भएको थियो ।
यता आफूले राजीनामा नै गरेको अवस्थामा सरकारले जबर्जस्ति पदमुक्त गरी घिसिङलाई कार्यकारी निर्देशक नियुक्ति गरेको भन्दै शाक्यले गत साउन ३२ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । उनको मुद्दाका विषयमा यही भदौ ८ गते बहस हुने भएको छ ।
वि.सं.२०७८ भदौ ५ १४:१६


















