back
stc
prabhu insurance

११३ संस्थामा सरकारी लगानी, ९८ वटा संस्था पुर्ण घाटामा

काठमाडौं । नेपाल सरकारले अघिल्लो आर्थिक वर्ष (२०७६/७७) मा ९८ वटा संस्थामा गरेको लगानीको प्रतिफल प्रतिफल शून्य रहेको छ ।

सरकारले अघिल्लो आर्थिक वर्षमा ११३ वटा सरकारी संस्थामा गरेको लगानीमा ९८ संस्थाको प्रतिफल शून्य आएको छ,१५ वटा संस्थामात्र नाफामा रहेको महालेखा परिक्षण प्रतिवेदनमा उल्लेख छ ।

महालेखा परीक्षकको कार्यालय हालै सार्वजनिक गरेको ५८ औं प्रतिवेदन अनुसार २०७५/७६ मा सरकारले विभिन्न ११३ वटा संस्थामा २ खर्ब ९६ अर्ब ९२ करोड सेयर लगानी गरेको थियो।

जसबाट आर्थिक वर्ष २०७६/७७ मा १२ अर्ब ७२ करोड र बोनस सेयर प्राप्त समायोजनबाट ६ अर्ब ६ करोड थप भई ३ खर्ब १५ अर्ब ७० करोड सेयर लगानी भएको प्रतिवेदनमा उल्लेख छ ।

तर यी संस्थामध्ये ९८ वटा संस्थामा गरेको कुल १ खर्ब ९३ अर्ब ७ करोडबाट कुनै प्रतिफल प्राप्त नभएको महालेखाले जनाएको छ ।

महालेखाका अनुसार सेयर लगानीबाट नेपाल सरकारलाई आर्थिक वर्ष २०७६/७७ मा नेपाल राष्ट्र बैंकले ९ अर्ब ९६ लाख, नेपाल टेलिकमले ६ अर्ब १७ करोड ७७ लाख, नेपाल आयल निगम लि. ले ४ अर्ब १५ करोड ४७ लाख, कृषि विकास बैंक लि. ले १ अर्ब ४२ करोड ९५ लाख र अन्य ११ संस्थाले २ अर्ब ६९ करोड २६ लाख रुपैयाँ गरी कुल २३ अर्ब ४६ करोड ४१ लाख रुपैयाँ नगद लाभांश र नेपाल बैंक लि. ले ७५ लाख ६ हजार रुपैयाँ बराबरको बोनस सेयर उपलब्ध गराएका छन् ।