back
prabhu insurance
himalayanlife

साँखुको मणिचुड कुण्डमा भिडभाड

काठमाडौं । शंखरापुर नगरपालिका प्रमुख सुबर्ण श्रेष्ठले मणिचुड मेलाको अवलोकन गरेका छन । प्रत्येक बर्ष जनै पुर्णिमाको दिनमा शंखरापुर नगरपालिका वडा नं– ८ मा रहेको मणिचुड कुण्डमा मेला लाग्नुको साथै कुण्ड नजिकै रहेको मणिचुड महादेव मन्दिरमा भक्तजनहरुको भिडभाड हुने गर्दछ ।

हरेक वर्षको जनैपूर्णिमा, ऋषितर्पणी तथा रक्षाबन्धनका दिन मेला लाग्ने मणिचुडमा हिन्दु तथा बौद्धमार्गीहरुको श्रद्धाको केन्द मानिन्छ ।

समुद्र सतहबाट करिब २,२१० मिटर उचाइमा अवस्थित उक्त कुण्ड हिन्दु धर्मावलम्बी तथा बौद्ध मार्गीहरूको समान धार्मिक आस्था राख्दै आएका छन।

मौसम खुलेको बेला कुण्डमा देखिने गाढा नीलो आकाश, वरिपरिको डाँडाको प्रतिबिम्ब देखिन्छ। काठमाडौं बाट नजिकको दुरीमा रहेको सो स्थान बाट सुर्योदय र सुर्यास्तको साथै काठमाडौं उपत्यकाको मनोमहक दृश्यावलोकन गर्न सकिन्छ ।

उकालो चढ्दा थकाई लागे पनि मनमोहक दृष्य र प्राकृतिक सुरन्दरता सबैको मानसपटलमा रोमान्चक र ताजा हुने हुँदा सहजै यात्रा गरि कुण्ड सम्म पुग्न सकिन्छ। कुण्डका दाया बायाँ शिव लिंग, शिव पार्वतीको प्रस्तर मुर्तिसँगै दुइवटा पाटी र बौद्व स्तुप अनि कुण्डको छेउबाट अनवरत बगिरहने धारा रहेको सो स्थानमा हरेक नयाँ वर्ष र जनै पुर्णिमाको दिन मेला लाग्ने गर्दछ ।

आन्तरिकमात्र नभई पर्याप्त विदेशी पर्यटक भित्रिने मुलुककै राजधानी काठमाडौंको साँखु नजिक प्रशस्त पर्यटकीय आकर्षणका सम्भावना रहेको उक्त क्षेत्र उचित प्रचार–प्रसारको अभावमा ओझेलमा परेको देखिन्छ ।

प्राकृतिक, ऐतिहासिक एवम् सांस्कृतिक रुपमा समृद्ध भएर पनि आवश्यक प्रचारप्रसार, पूर्वाधार एवम् पर्यटक आकर्षित गर्ने खालका कार्यक्रमको अभावमा मणिचुड पर्यटकीय वैभव पर्यटकबाट टाढै रहेको छ ।

सो कुण्ड १ सय ८ कुण्ड मध्येको एक हो । देवासुर संग्रामको बेलामा विष्णु भगवानले बज्रयोगिनी देवीसँग विजय वाहिनी मन्त्र वरदान पाउन कुण्डल स्नान गरेको मणिकुण्डल अति पवित्र स्थल मानिएको छ ।

त्यस्तै देव दानव मिलेर समुन्द्र मन्थन गर्दा निस्केको उल्णव कालकुट विष सेवन गरी शिवजीले विषको डाह शान्त पार्न सर्वप्रथम आफ्नो त्रिशुल पहाडमा धसेर तीनधारा जलप्रवाह गरी मणिकुण्डको निर्माण गरि त्यहाँ महादेव जलसमाधीमा बसेको प्रसंग विभिन्न पुराणहरुमा वर्णन गरिएको छ । मणिचुड कुण्डमा स्नान गर्दा महारोग, दीर्घरोग समेत निको हुने धार्मिक जनबिश्वास रहि आएको छ ।