एमसीसीले सत्ता गठबन्धनमा खटपट शुरू
काठमाडौं । शेर बहादुर देउवा सरकार गठन भएको ५० दिन नाघि सक्दा पनि देउवा मन्त्रिपरिषद्ले पूर्णता पाउँन सकेको छैन्।
मन्त्रीपरिषदले पुर्णता नपाउदै प्रधानमन्त्री शेरवहादुर देउवाले धमाधम नियुक्ति,बढुवा र सरुवा गर्न थालेपछि सत्तारुढ गठबन्धनमा खटपट शुरु भएको छ ।
अझ यसबीचमा देउवाले आफ्नो दूतका रुपमा कानून,न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रमुख विपक्षी नेता केपी शर्मा ओली समक्ष भेट्न बालकोट पठाएपछि प्रचण्ड र माधव नेपाल झस्किएका छन् ।
सत्ता गठबन्धनका मुख्य शीर्ष नेता देउवा, प्रचण्ड र माधव नेपालबीच एमसीसी पारित गर्ने विषयमा पनि मतभेद उत्पन्न भएको छ ।
यी नेता वीच दैनिक जसो बालुवाटारमा भेटवार्ता भएपनि मन्त्रालय भागवण्डा र संसदबाट एमसीसी पारित गर्ने बारे सहमति हुन सकेको छैन्। आज पनि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो,तर ठोस निकास निस्कन सकेन । शुक्रवार पनि शीर्ष नेताहरुको बैठक बसेको थियो ।
मन्त्रालय बाँडफाँटमै समस्या आएकाले नेताहरु छलफलमा अलि बढी व्यस्त छन् । भदौ २२ गतेसम्म प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्ने समय सकिएपछि अध्यादेश निष्क्रिय बनाएर मन्त्रिपरिषद् विस्तार गर्न नेताहरु सहमत भएका छन् तर मालदार मन्त्रालयको भागबन्डामा कुरा मिलेको छैन्।
यसबीचमा मन्त्रालय भागबण्डा टुंगो लगाउने, बजेटमा सहमति जुटाउने र एमसीसीको सन्दर्भमा समेत सत्ता गठबन्धनको साझा धारणा बनाउने गरि नेताहरुबीच छलफल चलिरहेको कांग्रेस महामन्त्री पूर्णवहादुर खड्काले बताएका छन् ।
सत्ता गठबन्धनमा कुनै खटपट नभएको उनले दावी गर्दै संसद संचालन लगायतका विषयमा विपक्षी दलसँग सरकारले कुराकानी गर्नु स्वभाविक रहेको बताएका छन् । तर पशुपति विकास कोषमा डा. मिलन कुमार थापालाई सदस्य सचिवमा, योजना आयोग लगायतका नियुक्तिमा समेत सत्ता गठबन्धनका अन्य नेताले आपत्ति जनाएका छन् ।
नेकपा (एस) का एक नेताले मन्त्रिपरिषद् विस्तार हुँदा सम्बन्धित मन्त्रीले गर्नुपर्ने काम धमाधम अहिले प्रधानमन्त्रीले आफूले सम्हालेका मन्त्रालयमा मन्त्रिस्तरीय निर्णयबाट गरिरहनु भनेको अब नियुक्त हुने मन्त्री हेरालुमात्र बन्ने स्थिति हो ।
पर्यटन मन्त्रालय कसको भागमा पर्ने भन्ने थाहा छैन तर ठूला नियुक्ति आर्थिक चलखेलमा हुन थालेपछि त्यहाँ नयाँ मन्त्री गएर गोठालो लाग्ने बाहेक के हुन्छ भन्दै असन्तुष्टि जनाएका छन्।
वि.सं.२०७८ भदौ १९ १४:२५




















