इन्द्रजात्रा पर्व शुरू
काठमाडौं उपत्यकाको महत्वपूर्ण पर्व इन्द्रजात्रा असोज २ गतेबाट सुरु भएको छ । काठमाडौंको बसन्तपुरस्थित हनुमानढोकामा ३६ हात लामो लिंगो शनिवार बिहान शुभ साइतमा ठड्याएर इन्द्रजात्राको सुरुवात गरिएको छ ।
भक्तपुर जिल्लाको साँगा चित्तपोलबाट ल्याइएको लिंगो हुनमानढोकामा ठड्याएपछि इन्द्रजात्रा सुरु गर्ने चलन रहेको छ। यो लिंगो गाड्ने चलन शाह वंशीय राजा प्रतापसिंह शाहको पालाबाट सुरू भएको मानिन्छ । इन्द्र जात्रा सुरु भएसँगै यसको विशेष आकर्षण मानिने पुलुकिसी र लाखेनाच पनि सुरु भएको छ ।
एक सातासम्म चल्ने इन्द्र जात्राको मुख्य दिन भोली असोज ३ गते कुमारी घरबाट काठमाडौंको तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथ यात्रा गर्ने गरिन्छ ।
सोही दिन राष्ट्रप्रमुखको रुपमा राष्ट्रपतिले जात्रा अवलोकन गर्ने परम्परा रहेको छ । यसै अवसरमा कन्याको पूजा पनि गरिन्छ । सरकारले इन्द्रजात्राको अवसर पारेर उपत्यकामा सार्वजनिक विदा दिने गर्दछ ।
इन्द्रजात्रा काठमाडौं लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने जात्रा हो। यसलाई येँया पुन्हि पनि भनिन्छ।
इन्द्रजात्रा काठमाडौंमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्त्वपूर्ण जात्रा हो। इन्त्रजात्राको प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापना हो।
१२औंदेखि १८औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उदगम स्थल हो। भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरू भई यँलागाः चौथी अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ।
सनातन धर्मावलम्बीहरूका प्रमुख र प्रचलित चाड दशैं, तिहार,छठपर्व र फागु पुर्णिमाभन्दा पनि इन्द्रजात्रालाई संस्कृतिविदहरूले पुरानो चाड मानेका छन् । इन्द्रजात्रा र लिंगो –ध्वजा ठड्याउने प्रचलनको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, बृहत्संहिता र भविष्य पुराणमा विस्तृत वर्णन पाइन्छ ।
आफ्नी आमालाई वसुन्धराको व्रतको निम्ति पूजा सजाउन स्वर्गलोकका राजा इन्द्र काठमाडौं आएर पारिजातको फूल टिप्न लाग्दा तिनलाई चोर भनी नियन्त्रणमा लिएर डोरीले पाता कसी बीच सडकमै जात्रा गरेको दिनमा हामी इन्द्रजात्रा मनाउँदछौं।
त्यस बन्धनबाट मुक्त गराउन इन्द्रकी आमा स्वयं काठमाडौं आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लग्छिन। त्यही कुहिरोले गर्दा धानबाली समयमा पाक्ने भयो भन्ने कथन अझै पनि जनजिब्रोमा जीवितै छ।
इन्द्रजात्राको प्रमुख कार्य नै लिंगो –ध्वजा स्थापना हो । पुराण अनुसार प्राचीन कालमा देवता र असुरहरू ठूलो युद्धको तयारीमा लागे । त्रिदेव र सम्पूर्ण देवगणले देवराज इन्द्रलाई विजयी गराउन ध्वजा बनाएर त्यसलाई पूजा गरेर इन्द्रलाई हस्तान्तरण गरे ।
इन्द्रले समातेकाले त्यस ध्वजालाई इन्द्रध्वजा भनियो । देवासुर संग्राममा देवताहरूको विजय भएपछि इन्द्रध्वज पूजा र समारोहले निरन्तरता पायो ।
स्वर्गलोग र पृथ्वीमा समेत विजयको कामनाले राजाहरूले इन्द्रध्वज स्थापना गर्न थाले । पृथ्वीको राजा उपरिचर वसुलाई देवराज इन्द्रले इन्द्रध्वजा दिएपछि उनले युद्धमा सजिलै विजय हासिल गरेको चर्चाले सबैमा यो पर्व मनाउने हौसला जाग्यो । आफ्नो राज्यमा सुख, समृद्धि वृद्धि गर्न इन्द्रध्वजा स्थापना गर्ने परम्परा बस्न थाल्यो।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठडयाइए पछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजा–आजा गरी आठ दिनसम्म मनाइन्छ।
तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेपलाञ्चोक जिल्लाको उग्रचण्डी नालास्थित जङ्गलमा छोडिएको बोकाले छोएको रूख काटी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ।
हनुमानढोका दरवार क्षेत्रमा कालभैरवको विशाल मूर्ति अगाडि धार्मिक विधि अनुसार उक्त लिंगो ठड्याएपछि इन्द्रजात्राको चहल पहल सुरू हुन्छ। यसरी ठडयाइएको लिङ्गोलाई ुइन्द्रध्वजोत्थानु पनि भनिन्छ। नेपाल भाषामा ‘योसी’ भनिने उक्त लिंङगोमा मङ्गल सूचकका विभिन्न चिह्न अङ्कित पताका झुन्ड्याएको हुन्छ ।
उक्त लिंगो ठड्याएपछि फेंदमा हात्ती चढेको सुनको जलप लगाइएको इन्द्रको प्रतिमा राखेर पूजा गरिन्छ र लिंगो ठड्याउँदा नेपाली सेनाको ब्यान्ड, गुरुजुको पल्टन र पञ्चेबाजा समूहले मंगलधुन बजाउँछन।
इन्द्रजात्रामा इन्द्रध्वजा उत्थान गर्ने परम्परा राजा प्रतापसिंह शाहले चलाएको इतिहासमा उल्लेख छ। यस अवसरमा हनुमानढोका दरवारक्षेत्रमा रहेको श्वेतभैरवको विशाल सरभमुख सर्वसाधारणलाई दर्शन र पूजाका लागि खुला गरिन्छ।
यस पर्वमा हनुमानढोका लगायतका क्षेत्रमा जीवितदेवीका रूपमा रहेकी कुमारी, गणेश र भैरवको रथयात्रा गर्ने परम्परा छ । इन्द्रध्वजाको लिङ्गो ठडयाएपछि सुरू भएको जात्राभरि आठ दिनसम्म राजधानीका विभिन्न ठाउँमा भक्कुनाचहलचोकको (सवभकु), भक्तपुरको महाकाली नाच, मजिपातको मजिपात लाखे नाच, दसअवतार तथा इन्द्रको वाहन ऐरावतहात्तीको प्रतिकका रूपमा (किलागलका पुलुकिसी) पुलुकिसी नाच नचाउने गरिन्छ।
यस उपलक्ष्यमा काठमाडौबाट करिब चार कोस पश्चिम पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भोलिपल्ट स्नान गरेर मेला भर्न भक्तजनको घुइचो लाग्छ। साथै कुमारीघर अगाडि रहेको त्रिलोकनारायण मन्दिरमा विष्णुले लिएको दस अवतार देखाइन्छ।
यसपछि बहुमतः निकाल्ने भनी बाँसलाई माला उनेर लामो बनाइ त्यसमा बत्ती बाली नगर परिक्रमा गराइन्छ। यो जात्रा काठमाडौंका मानन्धर समुदायले गर्छन।
यंलाथ्व पूर्णिमा जात्राको चौथो दिन थहने याः भनेर गणेश भैरव र कुमारीको रथलाई कान्तिपुर नगरिको माथिल्लो भाग मरुटोलबाट माथि असनसम्म परिक्रमा गराइन्छ। त्यस दिन नेवार समुदायका मानिसहरूले समय्बजि खान्छन्।
यंलागा चौथीका दिन नानिचा याः भनेर गणेश भैरव र कुमारीको तीनवटै रथलाई किलागल परिक्रमा गराई बेलुकीको साइतमा लिङ्गो ढालेर जात्राको समापन गरिन्छ। यसरी आठदिन सम्म नेवार समुदायले इन्द्रजात्रा मनाउँछन।
इन्द्रजात्रामा मरुटोलमा मरुसत्तल र सिंल्यंसत्तःको बीचमा अग्लो डबली बनाई चार सिंहमाथि रहेको खटमा इन्द्रको मूर्तिलाई डोरीले बाँधेर राख्ने चलन छ।
संस्कृतिविद्हरूका अनुसार आमालाई वसुन्धराको व्रत बस्न आवश्यक पारिजातको फूल र कर्कलो पृथ्वीमा लिन आएका देवराज इन्द्रलाई मालीलाई नसोधि फुल टिपेकोमा चोर सावित भै डोरीले बाँधी सवैलाई देखाएको भनी मरुटोलमा इन्द्रलाई डोरीले बाँधेर राखेको मूर्ति प्रदर्शन गरिएको लोककथन छ।
इन्द्रचोक, किलागल र नरदेवीमा पनि इन्द्रको मूर्तिलाई त्यसरी नै अग्लो डबली बनाई प्रदर्शनमा राखिन्छ। इन्द्रजात्राकै अवसरमा मध्यरातमा इन्द्रचोकमा रहेको किराँती राजा यलम्बरको शीर भनिने आकाशभैरवको मूर्तिलाई मन्दिरको बाहिर खट बनाएर राखी विभिन्न प्रकारका फूलले सिंगारेर पूजा गरिन्छ।
साथै धिमेबाजाको तालमा प्रसादका रूपमा भैरवको मुखमा जडित नलीबाट सर्वसाधारणका लागि जाँड र रक्सीको धारा बगाउने परम्परा छ।
लिंगो गाडेको तेस्रो दिन अर्थात यंलाथ्व चतुर्दशीका दिन क्वहने याः भनेर नेवार समुदायले मान्दै आएको जिवित देवी कुमारी भैरव र गणेशलाई रथमा राखी काठमाडौँको पुरानो कान्तिपुर नगरीको तल्लो आधा भाग परिक्रमा गराइन्छ ।
यो जात्रा गर्नु अघि हनुमानढोकाको गद्दी बैठकमा राष्ट्रप्रमुख उपस्थित भइ गणेश भैरव र कुमारीको पूजा गरी जात्रा हेर्नुपर्ने प्रचलन छ । यो जात्रामा राष्ट्रप्रमुखको उपस्थिति जयप्रकाश मल्लको पाला देखि चलिआएको हो र कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले जिवित देवी कुमारीको रथ जात्रा चलाई आफू स्वयम रथमा बसी नगर परिक्रमा गर्ने गर्दथे भन्ने लोक कथन छ।
यसै दिन बेलुकी गणेश, भैरव र कुमारीको रथ परिक्रमा सकिएपछि मरुटोलबाट वर्षभरिमा मृत्यु भएका ब्यक्तिका परिवारजनले सतविज छर्दै कान्तिपुर नगरी परिक्रमा गर्छन।
यसपछि बहुमतः निकाल्ने भनी बाँसलाई माला उनेर लामो बनाइ त्यसमा बत्ती बाली नगर परिक्रमा गराइन्छ। यो जात्रा काठमाडौंका मानन्धर समुदायले गर्छन। यंलाथ्व पूर्णिमा जात्राको चौथो दिन थहने याः भनेर गणेश भैरव र कुमारीको रथलाई कान्तिपुर नगरिको माथिल्लो भाग मरुटोलबाट माथि असनसम्म परिक्रमा गराइन्छ ।
त्यस दिन नेवार समुदायका मानिसहरूले सम्यबजी खान्छन्। यंलागा चौथी अर्थात आश्विन कृष्ण चौथीका दिन नानिचा याः भनेर गणेश भैरव र कुमारीको तीनवटै रथलाई किलागल परिक्रमा गराई बेलुकीको साइतमा लिङ्गो ढालेर जात्राको समापन गरिन्छ।
नेपाल एकिकरणको परिप्रेक्षमा यस दिनको विशेष मह्त्व रहेको छ । यही दिन पृथ्वीनारायण शाहले राजा जयप्रकाश मल्ललाई हराई कान्तिपुर विजय गरेका थिए ।
कान्तिपुरका राजा जयप्रकाश मल्ल इन्द्रजात्रा मनाइ भोजभतेर गरेर बसेको बेलामा गोर्खाका राजा पृथ्वीनारायण शाहले १८२३ असोज १३ गते साँझ नरदेवी,टुडिखेल र भिमसेनस्थान तीनतीरबाट आक्रमण गरि कान्तिपुर विजय गरेका थिए।
वि.सं.२०७८ असोज २ १३:२४




















