संविधान, कानुन र स्वास्थ्य मापदण्डभित्र रहेर गर्ने कार्यक्रम बन्देज लगाउने आदेश र उद्देश्य छैन : गृह मन्त्रालय

काठमाडौं। सरकारले संविधान, प्रचलित कानुन र कोभिड–१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकलभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने कुनै आदेश र उद्देश्य नभएको स्पष्ट पारेको छ ।
गृह मन्त्रालयले हिजो एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको छ । ‘नेपालको संविधान, प्रचलित कानुन र कोभिड–१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकल भित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने नेपाल सरकारको कुनै आदेश र उद्देश्य नभएको व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ,’ मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा जिल्ला प्रशासन कार्यालय, काठमाडौं र भक्तपुरले जारी गरेको आदेशको विषयमा सार्वजनिक रूपमा अभिव्यक्त चासो र चिन्ताप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले असोज १४ गते बिहीबार एक आदेश जारी गर्दै ‘कोभिड–१९ को संक्रमण कायमै रहेको हुँदा भीडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि नगर्ने/नगराउने ’ आदेश जारी गरेको थियो ।
वि.सं.२०७८ असोज १५ १३:२८