back
stc
prabhu insurance
nabil

प्रहरी अस्पतालमा आर्थिक अनियमितता

काठमाडौं । नेपाल प्रहरीको प्रहरी अस्पताल महाराजगन्जमा आर्थिक अनियमितता भएको आशंकामा प्रहरी प्रधान कार्यालयले एआईजी डा. आशा सिंहमाथि छानवीन अनुसन्धान अघि बढाएको छ ।

सिंहमाथि अनुसन्धान गर्न प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मानवस्रोत तथा प्रशासन विभागका एआईजी विश्वराज पोखरेलको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका छन् । समितिलाई एआईजी डा.सिंह र आर्थिक खटनपटनमा संलग्न प्रहरीमाथि अनुसन्धान गर्न निर्देशन दिइएको छ ।

एआईजी पोखरेल नेतृत्वको समितिमा महानिरीक्षकको कार्यालयका डीआईजी वसन्त लामासहित एसएसपीद्वय पूजा सिंह र भीम ढकाल तथा कानुन शाखाका डीएसपी ज्ञानेन्द्र बस्नेत सदस्य रहेका छन् ।

कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भेन्टिलेटर खरिद गर्दा आर्थिक अनियमितता गरेको, आइसोलेसन वार्ड बनाउँदा रकम हिनामिना भएको, भारतबाट सेकेन्डह्यान्ड पीसीआर मेसिन किनेर नयाँ उपकरणसरह बिल भुक्तानी गरेको, अपारदर्शी रूपमा करारमा कर्मचारी नियुक्ति गरेको लगायत आरोपमा एआईजी डा.सिंह र अन्य प्रहरीमाथि अनुसन्धान गर्न समिति गठन भएको गृह मन्त्रालय स्रोतले बताएको छ ।

डा.सिंह २०७६ माघ ६ को मन्त्रिपरिषद् बैठकबाट सिनियरलाई पछि पार्दै अस्पतालको एआईजी तथा कार्यकारी निर्देशक नियुक्त भएकी थिइन् । सिनियर डीआईजी डा.मीनराज पाठकलाई पन्छाएर सिंहलाई बढुवा गरिएको भन्दै त्यतिबेला विवाद भएको थियो ।

सिंहको नियुक्ति विरुद्ध त्यसबेला पाठकले लोक सेवा आयोगको बढुवा समितिमा उजुरी पनि दिएका थिए ।

डा.सिंहमाथि राष्ट्र संघीय शान्ति मिसनमा सहभागी नभई सहभागी भए सरहकै तक्मा लगाएको पनि आरोप छ । उनीमाथि नेपाल सरकारले पदक नै नदिई गोरखा दक्षिणबाहु तक्मा लगाएको आरोप पनि लागेको थियो ।

शान्ति मिसन र गोरखा दक्षिणबाहु पदक पाएरनपाएकोबारे पनि अनुसन्धान गर्न समितिलाई कार्यादेश दिइएको स्रोतले बताएको छ ।