पहिलो दिनमै पर्यो तेह्रथुम पावर कम्पनीको आइपीओमा माग भन्दा १० गुणा बढी आवेदन

काठमाडौं । तेह्रथुम पावर कम्पनीको आइपीओमा ७४ लाख ३९ हजार ४२० कित्ताका लागि आवेदन परेको छ ।
बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार बुधबार साँझ ५ बजेसम्ममा ५ लाख ४६ हजार ३६८ जना आवेदकबाट ७४ करोड ३९ लाख ४२ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ९.९९ गुणा बढी हो ।
कम्पनीले आजभदौ ९ गतेबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले कुल ८ लाख कित्तामध्ये ५ प्रतिशत (४० हजार कित्ता) म्युचुअल फन्डलाई र २ प्रतिशत (१६ हजार कित्ता) सेयर कर्मचारीलाई सुरक्षित गरेको छ । बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
तेह्रथुमको आइपीओमा भदौ १३ गतेसम्म आवेदन दिन सकिन्छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ ।
प्रतिकित्ता १०० रुपैयाँमा आइपीओ भर्न सकिन्छ । यसमा एनआइबीएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । लगानीकर्ताले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् ।
मेरो सेयर एपमार्फत अनलाइन आवेदन पनि दिन सकिन्छ । तेह्रथुम पावरले तेह्रथुम जिल्लामा ७.५ मेगावाटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ ।
यस आयोजनाको कुल लागत १ अर्ब ३४ करोड १७ लाख रुपैयाँ रहेको छ । यसको प्रतिमेगावाट लागत भने १७ करोड ८९ लाख रुपैयाँ छ ।
यस अघि कम्पनीले साउन ५ देखि १९ गतेसम्म आयोजना प्रभावित स्थानीयलाई ४ लाख कित्ता आइपीओ बिक्री गरेको थियो । अब सर्वसाधारणलाई पनि आइपीओ बिक्री गरिसकेपछि यसकोे चुक्ता पुँजी ४० करोड रुपैयाँ पुग्नेछ ।
वि.सं.२०७८ भदौ ९ १९:३५