back
stc
prabhu insurance

न्यादी हाइड्रोपावरको आइपीओ आज बाँडफाँट हुँदै

काठमाडौं । न्यादी हाइड्रोपावरको आइपीओ आज कात्तिक ५ गते शुक्रबार बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार बिहान ९ बजे आइपीओ बाँडफाँट गर्न लागिएको हो ।

न्यादी हाइड्रोपावरको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नु पर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ ।

यस आइपीओको बिक्री बन्द हुँदासम्म कुल २३ लाख ५७ हजार १६६ जनाले २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताका लागि आवेदन दिएका थिए ।

यो मागको तुलनामा १४.०८ गुणा बढी हो । सर्वसाधारणलाई बिक्री गरिएको २० लाख ९२ हजार ५०० कित्तालाई आधार मान्दा २ लाख ९ हजार २५० जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । २१ लाख ४७ हजार भन्दा धेरै जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।

कम्पनीले असोज १५ गतेबाट १९ गतेसम्म २ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । यसमध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था थियो ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले न्यादीको आइपीओलाई औसत आधार जनाउने ‘केयर एनपी आइआर डबल बी’ रेटिङ दिएको छ । केयरले २०७७ असोज २३ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङको म्याद यही असोज २२ गते सकिएको छ ।