कांग्रेस केन्द्रीय कार्यसमितिको आज दिउँसो १ बजे बैठक बस्दै
काठमाडौँ । सत्तासीन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्नेछ।
बैठकमा १३ भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने प्रस्ताव पेस हुनेछ। आइतबार बसेको पदाधिकारी बैठकले दुईवटा भ्रातृ संस्था र नौवटा शुभेच्छुक संस्था थप गर्ने प्रस्ताव अगाडि बढाएको थियो।
भ्रातृ संस्थाका रूपमा नेपाल थारू संघ र नेपाल आदिवासी जनजाति महासंघले मान्यता पाउने भएका छन्।
नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ, नेपाल लोकतान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघ, नेपाल लोकतान्त्रिक उद्योग व्यापार व्यवसायी संघ, नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघ, नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ, नेपाल लोकतान्त्रिक आयुर्वेद तथा प्राकृतिक चिकित्सक संघ, नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघ र नेपाल लोकतान्त्रिक भाषा साहित्य लेखक संघलाई शुभेच्छुक संस्थाको रूपमा मान्यता दिने तयारी भएको हो।
यो प्रस्ताव आजदेखि बस्ने बैठकमा प्रस्तुत गरिनेछ। बैठकले भ्रातृ तथा शुभेच्छुक संस्थाहरुको विधान स्वीकृत गरी ती संस्थाहरूलाई भ्रातृ तथा शुभेच्छुक संस्थाको रूपमा अनुमति प्रदान गर्नेछ। अब कांग्रेसका भ्रातृ संस्थाको संख्या १३ बाट बढेर १५ पुग्नेछ भने शुभेच्छुक संस्थाको संख्या २७ पुग्नेछ।
वि.सं.२०७९ असार २७ ०७:३०



















