उद्यमी व्यवसायीहरू मारमा

काठमाडौं । वाणिज्य बैंक ,विकास बैंक र फाइनान्स कम्पनीहरूले मनोमानी ढंगले निक्षेपमा ब्याजदर बृद्वि गर्न थालेपछि उद्योगी व्यवसायीहरू यसको नराम्रो मारमा परेका छन। यसमा धेरै उधमी व्यवसायीहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।
वाणिज्य बैंकले कात्तिक महिनाको लागि सार्वजनिक गरेको निक्षेपमा नयाँ ब्याजदर ११ प्रतिशत भन्दा बढी पुर्याएका छन् । कर्जामा पनि बैंकको ब्याज निकै बढेको छ । कोरोना महामारीको समयमा पनि मनग्य नाफा आर्जन गरेका वाणिज्य बैंकहरुले धमाधम ब्याज बढाउन थालेका छन् ।
बैैंकहरुले ब्याज बढाउन थालेपछि उद्योगी व्यवसायी भने निकै असन्तुष्ट बनेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारणी सदस्य हेमराज ढकाल लगायतका उद्योगीहरुले बढेको ब्याजदरको विरोध गरेका छन् ।
बैंकले कात्तिक महिनाको लागि सार्वजनिक गरेको ब्याजदरले कोरोना महामारीबाट तहसनहस भएको ब्यवसाय अलिकता माथि उठन लागेको बेला बढेको ब्याजदरले निकै त्रसित बनाएको उनको टिप्पणी छ ।
अहिलेसम्म कोरोना महामारीको असर कम नभएको भन्दै यस्तो अवस्थामा बैंकले मनलाग्दी ब्याज बढाएर आफ्नो सामाजिक उत्तरदायित्वबाट विमुख हुन खोजेको सबै उद्योगी ब्यवसायीको बुझाई रहेको छ ।
हरेक बैंकले आफ्नो निक्षेप र कर्जाको व्याज निर्धारण गर्नु बैंकको अधिकार नै हो । अझ नेपाल राष्ट्र बैंकले त हरेक महिनाको अन्तिम दिनसम्म आगामी महिनाको ब्याजदर सार्वजनिक गर्न भनेको छ ।
सोही अनुसार बैंकले कात्तिक महिनाको ब्याजदर सार्वजनिक गरेको हो । अहिलेको बिषम अवस्थामा राष्ट्र बैंक र नेपाल बैंकर्स एसोसिएशनले यसमा अंकुश लगाउनु पर्ने उद्योगी व्यवसायीको माग रहेको छ ।
अहिले केही बैंकले ब्याजदर धेरै नै बढाएका छन् । केही व्यवसायीले बैंकले ब्याजदर बढाउन होडबाजी गर्दा तत्काल नभएपनि दिर्घकालिन समयमा कुनै न कुनै रुपमा अर्थतन्त्रमा नकारात्मक असर पर्ने बताउन थालेका छन् ।
मनग्य नाफा कमाए पनि बैंकहरु धमाधम ब्याज बढाउन थाल्दा राष्ट्र बैंकको नेतृत्वप्रति उद्योगी व्यवसायीहरुले केही अपेक्षा रहेको बताउन थालेका छन् ।
तरलता अभाबको नाममा बैंकहरुले ब्याजदर बढाएपनि भविश्यमा पर्ने असरको बारेमा अहिले नै राष्ट्र बैंकले सोच्नुपर्ने उद्योगी व्यवसायीहरुको माग रहेको छ ।
बैंकहरुले मनलाग्दी रुपमा ब्याजदर निर्धारण गरेपछि नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले आफ्नो धारणा सार्वजनिक गर्दै ब्याजदर बढेको प्रति विरोध जनाएका छन् । ‘दशैंपछि दशा आउँछ, त्यस्तै बैंकहरुले ब्यवसायीहरुको दशा ल्याउन खोजेको छ’ भन्दै सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गरेका छन् ।
त्यस्तै नेपाल उद्योग वणिज्य महासंघकै कार्यकारणी सदस्य प्रबलजंग पाण्डेले पनि सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै लेखेका छन् – हरेक बैंकले आफ्नो निक्षेप र कर्जाको व्याज दर निर्धारण गर्नु बैंक को अधिकारको कुरा हो ।
तर अहिलेको बिषम अवस्थामा नेपाल राष्ट्र बैंक र नेपाल बैंकर एसोसिएशनको प्रयासको वाबजुत पनि केही बैंकहरुको निक्षेपको व्याज दर बृद्विको होडबाजीले अर्थतन्त्रमा नकारात्मक असर पर्ने निश्चित छ ’ ।
बैंकले मनोमानी रुपमा ब्याजदर बढाएपछि उद्योगी व्यवसायीबाट पनि चर्को विरोध सुरु भएको छ । यो सँगै राष्ट्र बैंक तथा बैंकर्स संघले कस्तो निर्णय गर्ने हो त्यो भने हेर्न बाँकी नै छ।
तरलता अभाव भएपछि बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप संकलन गर्न व्याजदर बढाएका हुन। यो उनीहरूको बाध्यता हो। सरकारले पुँजीगत खर्च गर्न नसक्नु, रेमिट्यान्स बृद्विदर घटन, कोरोनाले आर्थिक गतिविधि कम हुनु, विदेशी पर्यटकको आवागमन ठप्प हुनु,आयात बढनु आदि कारणले बचत घटेकाले तरलता अभाव बढेको छ।
यसको स्थायी समाधानका लागि सरकारी तबरबाटै ठोस पहल हुन आवश्यक छ। पर्यटन क्षेत्रमा गरेको लगानी संकटमा पर्ने अवस्था छ। यो क्षेत्र ठप्प हुँदा यश क्षेत्रमा गरिएको लगानी जोखिममा पर्ने सम्भावना बढेको छ ।
सावा र व्याज असुलीमा समस्या हुँने अवस्था देखिदैछ। कोरोना महामारीको असर आर्थिक र वित्तीय क्षेत्रमा देखिन थालेको छ।
वि.सं.२०७८ कात्तिक २ ०८:१५