back
stc
prabhu insurance

 बीमा समितिले पुनर्बीमाको बजार विकास गर्न निर्देशिका २०७८ जारी

पुनर्बीमा दलाल (ब्रोकर) सम्बन्धी निर्देशिका २०७८ जारी

काठमाडौँ । बीमा समितिले पुनर्बीमा दलाल (ब्रोकर) सम्बन्धी निर्देशिका २०७८ जारी गरेको छ । पुनर्बीमा दलाल (ब्रोकर) को पुँजी निर्धारण गरी दर्ता तथा नियमको व्यवस्था मिलाई पुुनर्बीमा बजारको विकास गर्ने उद्देश्यले समितिले निर्देशिका जारी गरेको हो ।
उक्त निर्देशिका अनुसार बीमा व्यवसाय सञ्चालन गर्न स्थापित सङ्गठित संस्थाको अधिकृत पुँजी कम्तीमा १० करोड रुपियाँ हुनुपर्ने, त्यसको ५० प्रतिशत रकम चुक्ता पुँजीका रूपमा कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।

त्यस्तै पुँजीमध्येबाट अधिकृत पुँजीको २५ प्रतिशत रकम समितिबाट एअर मार्क गराई वाणिज्य बैङ्कको मुद्दती खातामा राख्नुपर्ने व्यवस्था गरेको छ ।
त्यस्तै इजाजतबिना कसैले पनि पुनर्बीमा दलाल भई कार्य गर्न पाउने छैन भने दलाल सङ्गठित संस्था हुनुपर्ने व्यवस्था समितिले गरेको छ ।

पुनर्बीमा दलालले बीमकले जारी गरेको बीमालेखअन्तर्गत उत्पन्न हुने दायित्व सम्बन्धमा बीमकको तर्फबाट पुनर्बीमक तथा पुनर्बीमकको तर्फबाट अर्को पुनर्बीमकसँग मध्यस्थता गर्ने, पुनर्बीमा विशेषज्ञता सेवा र प्राविधिक परामर्श दिने, बजारको तथ्याङ्क विश्लेषण गरेर पुनर्बीमित–पुनर्बीमकलाई उपलब्ध गराउने, दाबी भुक्तानी सहजीकरण गर्ने, सम्झौता तयार गर्न सहयोग गर्ने, सम्झौताअनुसार लिने दिने रकमको हिसाब फरफारक गर्न सहयोग गर्ने कार्य गर्ने निर्देशनमा उल्लेख छ ।

त्यस्तै जोखिमअनुसार उपयुक्त पुनर्बीमा व्यवस्था गर्न सहयोग गर्ने, बीमितका लागि उपयुक्त पुनर्बीमा दर प्राप्त गर्न प्रयत्न गर्नेलगायतका कार्य तोकिएका छन् । समितिले विदेशी पुनर्बीमा दलालसम्बन्धी पनि व्यवस्था गरेको छ ।

पुनर्बीमा दलालहरूको अन्तर्राष्ट्रिय व्यावसायिक पहुँच प्रतिष्ठा तथा समितिले तोकेको अन्य आवश्यक मापदण्डका आधारमा समितिले नेपालमा सम्पर्क खोल्न इजाजत दिनसक्ने निर्देशनमा उल्लेख छ ।
समितिबाट पुनर्बीमा दलालको इजाजत दिने आशयपत्र प्राप्त भएपछि ब्रोकिङ कार्य गर्नुअघि नेपालको क वर्गको वाणिज्य बैङ्कमा सेक्युरिटी डिपोजिट बापत ५० हजार अमेरिकी डलर जम्मा गर्नु पर्नेछ । नेपाल पुनर्बीमा दलालसँग संयुक्त रूपमा नेपालमा पुनर्बीमा दलाल सङ्गठित संस्था खोल्दा पुँजीको ५५ प्रतिशतसम्म सेयर हिस्सा राख्न सक्नेछन् ।