आज प्रभु इन्स्योरेन्सको वार्षिक साधारण सभा
काठमाडौं । आज फागुन २३ गते प्रभु इन्स्योरेन्सको वार्षिक साधारण सभा बस्दैछ । कम्पनीको साधारण सभा प्रभु इन्स्योरेन्सको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स, तिनकुने काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट ६.७० प्रतिशत बोनस सेयर र कर तिर्न ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन हुनेछ ।
यस्तै, अन्य कुनै निर्जीवन बिमा कम्पनीसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव रहेको छ ।
यता, अन्य कुनै कम्पनीसँग मर्जर वा एक्विजिसन गर्न सफल नभएमा भने बिमा प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्याउन आवश्यक मात्रामा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेश गर्ने भएको छ ।
प्रभुले गत असार ३२ गते अजोड इन्स्योरेन्ससँग मर्जरका लागि सम्झौता गरेपनि अन्तिम समयमा आएर रद्द भएको थियो । मर्जर तोडिएपछि प्रभुले हालसम्म अन्य कुनै कम्पनीसँग मर्जरका लागि सम्झौता गरेको छैन ।
यता, अजोडले भने युनाइटेड इन्स्योरेन्ससँग मर्जरमा जाने सहमति गरेको छ । साधारण सभा प्रयोजनका लागि फागुन १२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, फागुन ११ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
वि.सं.२०७९ फागुन २३ ०८:०५




















