back
stc
prabhu insurance
nabil

महालक्ष्मी लाइफले प्रिमियममा ९० लाख कित्ता आइपिओ निष्काशन गर्ने

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले पनि प्रिमियममा आइपिओ निष्काशन गर्ने भएको छ । मर्जरलाई कायम राख्दै ९० लाख कित्ता आइपिओ निष्काशन गर्ने भएको हो ।

प्रभु लाइफ सँग मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेको महालक्ष्मी लाइफले मर्जर कमिटीको सहमतिमै प्रिमियममा आइपिओ निष्काशन गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । यहि पूँजीका आधारमा सर्वसाधाण तर्फ ३० प्रतिशत कायम हुने गरी ९० करोड रुपैयाँ बराबरको आइपिओ निष्काशन गर्ने भएको हो ।

प्रिमियममा आइपिओ निष्काशन गर्दा कम्पनीले नेटवर्थको दुई गुणासम्म पाउने छ । कम्पनीले सार्वजनिक गरेको पछिल्लो लेखापरीक्षण प्रतिवेदन अनुसार प्रतिशेयर नेटवर्थ १०७.६८ रुपैयाँ रहेको छ । यो आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन अनुसार हो ।

यस पछिको आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को लेखापरीक्षण गर्न बाँकी रहेको हुँदा प्रतिशेयर नेटवर्थ अझ बढि हुनेछ । यस आधारमा कम्पनीले एक सय रुपैयाँ भन्दा बढि प्रिमियममा आइपिओ निष्काशन गर्ने देखिन्छ ।

महालक्ष्मी लाइफले प्रभु सँग मर्जर पश्चात एफपिओ जारी गर्ने योजना बनाएको थियो । तर नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्ड विच प्रिमियममा आइपिओ निष्काशन गर्ने विषयमा सहमति भए पछि कम्पनीले पहिला प्रिमियममा आइपिओ निष्काशन गरेर मात्रै मर्जरमा जाने भएको हो ।

मर्जर पछि महालक्ष्मी लाइफको चुक्ता पूँजी ३ अर्ब पुग्नेछ । हाल महालक्ष्मी लाइफको जगेडा कोषमा ३२ करोड ५९ लाख रुपैयाँ रहेको छ । प्रिमियम मार्फत कम्तिमा पनि एक अर्ब भन्दा माथि हुनेछ ।

मर्जरको सहमति भएको प्रभु लाइफको चुक्ता पूँजी २ अर्ब रहेको छ भने जगेडा कोषमा ५९ करोड रुपैयाँ रहेको छ । दुई कम्पनी मर्जर हुने वित्तीकै चुक्ता पूँजी ५ अर्ब पुग्नेछ । साथै जगेडा कोष पनि २ अर्ब भन्दा माथि पुग्नेछ ।