back
stc
prabhu insurance
nabil

अमेरिकाबाट सुरू भएको बैंकिङ समस्या अन्य देशहरूमा पनि सर्दै

अमेरिकामा देखिएको बैंकिङ संकटको समस्या युरोपेली मुलुकहरुमा पनि फैलिने  जोखिम बढेको छ । स्वीजरल्याण्डका केही बैंकहरु समस्यामा पर्ने संकेत देखिएपछि त्यहाँ बैंकहरुको शेयर मूल्यमा अभूतपूर्व गिरावट आएको हो ।

स्वीजरल्याण्डको क्रेडिट स्वीज बैंकमा समस्या देखिएको खबरले सोही बैंकको शेयर बुधबार एकै दिनमा २४ प्रतिशतले घटेको छ ।

स्वीस अधिकारीहरुले बैंक अफ इङ्ल्याण्डका विज्ञहरुलाई आफ्नो बैंकिङ प्रणालीमा आएको समस्या समाधानका लागि गुहारेका छन् ।

स्वीस नेशनल बैंक र स्वीस फाइनान्सियल सुपरभिजन अथोरिटीका अधिकारीहरुले डढेलो झैं फैलिएको वित्तीय संकटको त्रासलाई शान्त पार्ने कोशिस भइरहेको बताएका छन् ।

अधिकारीहरुले आवश्यक पर्यो भने क्रेडिट स्वीज बैंकलाई तरलता पनि उपलब्ध गराउने बताएका छन् । क्रेडिट स्वीस बैंकमा देखिएको जोखिमका कारण अन्य बैंक तथा वित्तीय संस्थाको शेयर मूल्य पनि तल झरेको छ भने समग्र स्टक मार्केटलाई असर गरेको छ ।

बुधबार एकै दिनमा जर्मनीको शेयर बजारमा ३ प्रतिशत, फ्रान्सको शेयर बजारमा साढे ४ प्रतिशत र बेलायतको शेयर बजारमा २ प्रतिशतको गिरावट आएको छ ।