back
stc
prabhu insurance

डिप्रोक्स लघुवित्तको २१.०५ प्रतिशत लाभांश सुरक्षित गर्ने दिन

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको २१.०५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज असोज ११ गते सोमबार अन्तिम दिन हो । साधारण सभा र लाभांश वितरणको लागि डिप्रोक्सले असोज १२ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, आजसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।

आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १.०५३५ प्रतिशत नगद गरी कुल २१.०५३ प्रतिशत लाभांश वितरण प्रस्ताव पेश गर्दैछ । डिप्रोक्सले हाल कायम १ अर्ब १५ करोड ६२ लाख ४८ हजार ६१० रुपैयाँ चुक्ता पुँजीमा बोनस सेयर तथा नगद लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको २० औं वार्षिक साधारण सभा असोज २३ गते बस्ने भएको छ । सभा चितवन गार्डेन रिसोर्ट, चितवनमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभामा सेयर संरचना र कर्मचारीको पद समायोजनको विषयमा नाडेप लघुवित्तसँग असहमति भएकाले मर्जर प्रक्रिया अघि नबढेको र मर्जर गर्न पनि नसकिने भएकाले यो विषय राष्ट्र बैंकलाई जानकारी गराई सकिएको जनाइएको छ ।

यसर्थ, अहिलेसम्म भए गरेका कामलाई अनुमोदन गर्ने र अहिलेसम्मका काम नियमन निकायहरुको निर्देशन अनुसार गराउनलाई सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेन्डा पनि छ । यसले गर्दा नाडेपसँगको मर्जर प्रक्रिया डीमर्ज गर्ने प्रस्ताव राखिएको छ ।

सभामा साधारण सेयरधनीको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । यस्तै, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ ।

कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ ।