back
prabhu insurance
himalayanlife

साधना लघुवित्तको नाफा ८८.३९ प्रतिशतले बढ्यो

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/०७९को प्रथम त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा संस्थाको नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा ८८.३९ प्रतिशतले बढेको छ।

गत वर्ष यही अवधिमा १ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर ३ करोड २९ करोड रुपैयाँ पुगेको छ। यो अवधिमा संस्थाको सञ्चालन मुनाफा ५८९.१९ प्रतिशतले बढेर ४ करोड ९३ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ७१ लाख ५८ हजार रुपैयाँमा सीमित थियो।

संस्थाको खुद ब्याज आम्दानी पनि १३०.७२ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा ३ करोड १२ लाख रुपैयाँ रहेको यस्तो आम्दानी समीक्षा अवधिमा बढेर ७ करोड २१ लाख रुपैयाँ भएको छ। यसले संस्थाको व्यावसायिक विस्तार आक्रामक देखिन्छ।

संस्थाले २ अर्ब ८८ करोड रुपैयाँ सापटी लिएर ३ अर्ब ८५ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले १ अर्ब ९४ करोड रुपैयाँ सापटी लिएर २ अर्ब २६ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

चुक्ता पुँजी २५ करोड ६९ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार १०६।८९ प्रतिशतले बढेर १६ करोड २१ लाख रुपैयाँको उचाइमा पुगेको छ । गत वर्ष यही अवधिमा रिजर्भमा ७ करोड ८३ लाख रुपैयाँ रहेको थियो। संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ५१.२२ रुपैयाँ पुगेको छ। पीई रेसियो ३५.८५ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १६३.१० रुपैयाँ रहेको पाइएको छ।