back
stc
prabhu insurance

महिला लघुवित्तको नाफा ४४.२१ प्रतिशतले बढ्यो

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको जनाएको छ।

आज सार्वजनिक वित्तीय विवरण अनुसार संस्थाले समीक्षा अवधिमा २ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ४४.२१ प्रतिशतले बढेको हो। गत वर्ष यही अवधिमा संस्थाले १ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि २२.१८ प्रतिशतले बढेर १ करोड ९३ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो मुनाफा १ करोड ५८ लाख रुपैयाँमा सीमित थियो।

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि ६०.७३ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा ४ करोड ७ लाख रुपैयाँमा खुद ब्याज आम्दानी गरेकोमा समीक्षा अवधिमा बढेर ६ करोड ५५ लाख रुपैयाँ भएको छ।

संस्थाले २ अर्ब ३६ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ६५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले १ अर्ब ५३ करोड सापटी लिई २ अर्ब २४ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

समीक्षा अवधिमा संस्थाको रिजर्भको आकार ५४.९२ प्रतिशतले बढेर २२ करोड ८९ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा १४ करोड ७७ लाख रुपैयाँ थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ११४.७१ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ४५.३४ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ ३२८.९४ रुपैयाँ रहेको जनाएको छ।