back
stc
prabhu insurance
nabil

बझाङमा नुनको अभाव छैन

काठमाडौं । बझाङ जिल्लामा नुनको अभाव नभएको साल्ट ट्रेनिङ कर्पोरेसन लिमिटेड स्रोतले बताएको छ। बझाङको सदरमुकाम चैनपुर डिपोमा सरकारले गत आर्थिक वर्षमा तीन हजार पाँच सय क्विन्टल नुन उपलब्ध गराएको थियो ।

यसपटक थलारा र बुंगलसहितका डिपो थपिएपछि चालु आर्थिक वर्षका लागि यस जिल्लामा १४ हजार दुई सय क्विन्टल नुन आवश्यक पर्ने अनुमान गरिएको छ। नुनको अभाव हुन नदिन चैनपुर डिपोले गत २०७९ चैतको अन्तिममा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड प्रदेश कार्यालय धनगढीमा आयोडिनयुक्त नुनको माग गरिसकेको थियो।

चालु आर्थिक वर्षका लागि चैनपुर डिपोमा सात हजार, बागथला डिपोमा पाँच हजार, तलकोट डिपोमा एक हजार पाँच सय र साइपाल बिक्री केन्द्रका लागि सात सय क्विन्टल नुन आवश्यक पर्ने गरि नुनको माग गरिएको छ । अहिले बजारमा नुनको अभाव छैन।

तर साल्ट ट्रेडिङको डिपोमा भन्दा पसलमा नुन महंगो भएको मात्र हो। साल्ट ट्रेडिङले सस्तोमा दिने नुन व्यापारीहरूले महंगोमा लिकुछिपी बेचिरहेका छन। यसलाई हटाउन अब साल्ट ट्रेडिङले व्यापारीलाई १० प्रतिशत सस्तोमा नुन उपलब्ध गराएर बजारमा नुन दिएमा नुनको अभाव र कालोबजारीका साथै मुनाफाखोरी पनि हुन पाउदैन।

काठमाडौं उपत्यका र अन्य क्षेत्रमा दिएजस्तै हिमाली क्षेत्रमा पनि भानु नुन व्यापारीलाई १० प्रतिशत छुटमा दिएर सर्वसुलभ गर्नु पर्दछ। साल्ट ट्रेडिङले खुद्रा ग्राहकलाई होइन थोक व्यापारीलाई नुन बेच्नुपर्ने देखिन्छ। त्यो भए बजारमा कहिपनि नुनको अभाव हुँदैन ।

अहिले आवश्यकताअनुसार नुन वितरण भइरहेकै छ । नुन अभाव भएको हल्ला मात्रै हो । सबैले नुन अभाव हुन्छ भनेर खरिद गर्न आएकाले प्रतिव्यक्ति पाँच पाकेट नुन वितरण गरिरहेको देखिन्छ । नेपालभर नुन भारतबाट आयात गरि भण्डारण,विक्री वितरण गर्ने आधिकारिक विक्रेता साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड हो ।

साल्ट ट्रेडिङको डिपोबाहेक कसैले पनि नुनको थोक बिक्री गर्न पाउँदैनन् । साल्ट ट्रेडिङले तोकेको मुल्यमा खुद्रा बिक्रेताले भने बेच्न पाउँछन्, बेच्दै आएका पनि छन। तर, बझाङमा कर्पोरेसनले तोकेको मूल्य भन्दा बढी मूल्य लिएर नुन बिक्री भैरहेको छ। यसको नियन्त्रण हुन आवश्यक छ।

सयौँ ग्राहक साल्ट ट्रेडिङको नुन बेच्ने डिपोबाटै कारोबार गरिरहेका छन् । साल्ट ट्रेडिङ कर्पोरेशनको डिपोबाट प्रति पाकेट नौ रुपैयाँमा नुन खरिद गर्न पाइन्छ। यो नुन व्यापारीले खरिद गरेर ग्राहकसँग व्यापारीले १५ देखि २० रुपैयाँमा बेच्दै आएको पाइन्छ ।

यस्ता व्यापारीलाई कारवाही हुन सकेको छैन। नौ रूपैयाँमा खरिद गरेर १० प्रतिशत मुनाफा राखि बिक्री गर्न त पाइन्छ तर १५(२० रूपैयाँमा बिक्री गरि ग्राहकलाई ठगि गरिरहेको पाइन्छ।

यो मुनाफाखोरी र कालोबजारी नियन्त्रण गर्न प्रहरी प्रशासनले सकिरहेको छैनन। व्यापारीले साल्ट ट्रेडिङकै नुन बिक्री गरिरहेका छन । बाहिरका पसलले १५ रुपैयाँमा एक पाकेट ‘भानु” नुन बिक्री गर्छन । साल्ट ट्रेडिङको नुन बिक्री गर्न अन्य पसललाई पनि दिइए सहज रूपमा नुन पाउन सकिन्छ।

ग्राहकलाई नुन खरिद गर्न सहज होस भनेर काठमाडौंमा जस्तै अन्य व्यापारीलाई पनि नुन बेच्न दिनु पर्छ। अनि नुनको अभाव हुने समस्या समाधान हुँदै जानेछ।

पाँच प्याकेट नुन खरिद गर्न साल्ट कर्पोरेसनको डिपोमा आम सर्वसाधारणको लाइन लगाउनु उचित हैन। कर्पोरेसनले व्यापारीलाई बजार खुद्रा मूल्य भन्दा १० प्रतिशत कम मुल्यमा नुन उपलब्ध गराई दिए बजारमा नुन सर्वसुलभ र सबै किराना पसलमा पाउन सकिने थियो।

कर्पोरेसनको डिपो र उपडिपोबाट मात्र नुन बिक्रीवितरण हुँदा नुनमा सधै भिडभाड र कालोबजारी हुने प्रवृत्ति बढेको हो। पसलेले आफूलाई खानका लागि ल्याएको केही पाकेट नुन पसलमा राखेको हुँ भन्दै बढी मूल्य लिएर बजारमा नुन बिक्री गर्ने गरेका छन ।

चैनपुरका पसलहरूमा साल्ट ट्रेडिङले प्रति प्याकेट ९ रूपैयाँ मूल्यमा नुन बिक्री गरिरहेको छ । व्यापारीले डिपोबाट बोराका बोरा नुन उठाउने र ग्राहकलाई महँगोमा विक्री गर्ने गरेका छन। व्यापारीले बर्खा नलाग्दै क्विन्टलका क्विटल डिपोबाट नुन उठाए ।

अहिले डिपोमा नुन स्टक घट्यो र खरिद गर्नेको चाप बढेको देखिन्छ । यता व्यापारीहरूले बढी मूल्यलिई लुकिछुपी नुन बेच्न थालेका छन । यस्तो अवस्था हटाउन कर्पोरेसनले १० प्रतिशत सस्तोमा व्यापारीलाई नुन उपलब्ध गराएर अवैधानिकरूपमा बढी मूल्य लिएर नुन बिक्री गर्नेलाई अनुगमन गरेर कारबाही गर्नुपर्ने देखिन्छ।

अत्यावश्यक वस्तुमा पर्ने नुन हिमाली र अति दुर्गम जिल्लामा सर्वसुलभ नहुँदा डिपोमा पाँच केजी नुन लिन घण्टौँ लाइनमा कुर्नुपर्ने बाध्यता छ। नुनको अभाव छैन,नुन पयाप्त छ, लाइनमा वस्नु पर्दैन भन्दा पनि अशिक्षाले गर्दा जनताले बुझ्दैेनन र लाइनमा बसेर पाँच किलो नुन लिएर जाने गरेका छन।

पाँच किलो नुन लिन मष्टा,खप्तडछान्ना,दुर्गाथली गाउँपालिकाकादेखि मानिस आएका छन। गाउँमा वर्षायामका बेला नुनको अभाव नहोस् भनेर डिपोमा उनीहरू हुल बाधेर आउने गरेका छन। घरमा एक दुई पोका नुन भएपनि नुनको अभाव हुन लाग्यो भनेर बर्खामा चैनपुर आइरहन सकिँदैन भनेर नुन लिन आएका हुन ।

नुन वितरणमा दुरूपयोग हुने गरेको गुनासो आएपछि असार महिनायता चैनपुर डिपोले आइतबार मात्रै नुन बिक्री वितरण गर्दै आएको छ । डिपोले जनसंख्याको तुलना गरेर औसतमा एक परिवारलाई पाँच केजी नुन वितरण गर्दै आएको छ ।

नुन लिन आउने सबैलाई पुरयाउनका लागि एक जनालाई पाँच केजी नुन दिने गरेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड डिपो कार्यालय चैनपुरका प्रमुख नरबहादुर भाटले बताएका छन ।

ग्राहकले मागेअनुसारको नुन दिएमा अरूलाई नपुग्ने देखिएकाले प्रत्येकलाई पाँच केजी दिने निर्णय गरेका छौ उनले भनेका छन। भाटका अनुसार नुनको अभाव हुन नदिन थप नुनको माग गरिएको छ।

नयाँ लटको नुन पनि आउन लागेको छ, त्यसैले साउन दोस्रो साताबाटै नुन वितरण सहज हुने भाटले बताएका छन । साल्ट ट्रेडिङले बिक्री गर्ने नुन सबै किराना पसलमा पाइन्छ तर नुनको मूल्य १५ देखि २० रूपैयाँ पर्छ ।

नुनको नै अभाव भने छैन। यसमा साल्ट ट्रेडिङ कर्पोरेसनले पनि काठमाडौं उपत्यका र अन्य स्थानमा जस्तै नुनको बिक्रीवितरण सर्वसुलभ हुने गरि हिमाली र दुर्गम पहाडी जिल्लामा पनि नुन बिक्रीवितरण गर्ने नीति लिन सके बझाङ,हुम्ला,जुम्ला, मुगु,डोल्पा,कालिकोट,बाजुरा, दार्चुला,अछाम, वैतडी,जाजरकोट,रूकुम जस्ता जिल्लाहरूमा सधै नुनको अभाव र नुन लिनेहरूको लाइन,कालोबजारी,मुनाफाखोरी गर्नेहरूको बिगबिगी हुँदैन,सहज रूपमा बजारमा नुन पाउने वातावरण बन्न सक्छ।