back
prabhu insurance
himalayanlife

नेपाल र इजरायलका निर्वाचन आयोगबीचको सम्बन्ध विस्तार गरिने

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र नेपालका लागि इजरायलका राजदूत हनान गोडेरबीच आज भएको शिष्टाचार भेटमा दुई देशका निर्वाचन व्यवस्थापन निकायबीचको आपसी सम्बन्धबारे विचारविमर्श भएको छ ।

दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्षगाँठ मनाइ रहँदा उनीहरुबिच भएको भेटमा आगामी दिनमा दुवै निकायबीच सहयोगका नयाँ क्षेत्रहरुको पहिचान गरी आपसी सहयोग आदान–प्रदान गर्ने विषयमा समेत छलफल भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त थपलियाले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर रहेको र आगामी दिनमा निरन्तर सहकार्य हुने बताए ।

उनले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ तथा स्थानीय तह निर्वाचनको सन्दर्भमा समेत दुई देशका निर्वाचन व्यवस्थापन निकायका बीचमा आपसी अनुभव आदान–प्रदान हुने र सम्वन्ध थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

आयोगका सचिव सुरेश अधिकारीले नेपालको निर्वाचन प्रणाली, पद्धति, प्रक्रिया, चरण र निर्वाचन व्यवस्थापनका विभिन्न आयामका सम्बन्धमा जानकारी गराउँदै अन्य क्षेत्रको सहयोगका अतिरिक्त निर्वाचनका क्षेत्रमा दुवै देशका निर्वाचन व्यवस्थापन निकायबीचमा आपसी सहयोग गर्न सकिने बताए । रासस