back
stc
prabhu insurance

अविरल वर्षाका कारण मुलुकभरि बाढी पहिरोले अवरुद्ध सडक सञ्चालन

काठमाडौँ । मनसुन सक्रिय भएसँगै केही दिनयता परेको अविरल वर्षाका कारण मुलुकभरि बाढीपहिरोले अवरुद्ध भएका राजमार्ग र सडकमध्ये १८ वटा पुनः सञ्चालनमा ल्याइएको छ ।

सडक विभागका अनुसार बाढीपहिरोका कारण अहिलेसम्म ३१ ठाउँमा सडक अवरुद्ध भएकोमा १८ ठाउँमा पुनः सञ्चालनमा ल्याइएको हो । जसमध्ये तीन ठाउँमा दुईतर्फी र १५ ठाउँमा एकतर्फी सञ्चालनमा ल्याइएको हो । अवरुद्ध १३ ठाउँमा अवरोध हटाउने प्रयास भइरहेको सडक विभागका महानिर्देशक अर्जुनजङ्ग कार्कीले जानकारी दिनुभयो ।

महानिर्देशक थापाका अनुसार, पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुर जिल्लाको गैँडाकोट धुम्सी खण्ड, पृथ्वी राजमार्ग अन्तर्गत धादिङको नौबिसे–मुग्लिन खण्डमा र राप्ती राजमार्गअन्तर्गत सल्यानको शङ्खमूल भन्ने ठाउँमा पहिरो हटाई राजमार्ग पुनः दुई तर्फी सञ्चालनमा ल्याइएको हो ।

त्यसैगरी, सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको पिपलडाँडा भन्ने ठाउँमा, कर्णाली राजमार्ग अन्तर्गत दैलेखको बाँगेसिमल–कालाखाला सडकखण्ड र कालाखाला–सैन सडकखण्ड र दरबारे–बोटखाला सडकखण्ड र खोड्पे–चैनपुर राजमार्ग अन्तर्गत बैतडीको ढोल्यामोड भन्ने ठाउँको अवरोध हटाई एकतर्फी सञ्चालनमा ल्याइएको हो ।

त्यसैगरी, सिद्धार्थ राजमार्गअन्तर्गत कालीमाटी सिसुवा भन्ने ठाउँमा, सुर्खेत तल्लो डुङ्गेश्वर–सातखम्बा–दुल्लु–पिपलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक अन्तर्गत कालीकोटको बालीघाट धनाडा भिग्म भन्ने ठाउँ, तानसेन–रिढी–कोरला राजमार्ग अन्तर्गत पाल्पाको ढुङ्गाखानी भन्ने ठाउँ, अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको ड्याम साडट र राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट भन्ने ठाउँको अवरोध हटाई सडक एकतर्फी सञ्चालनमा ल्याइएको महानिर्देशक थापाले जानकारी दिनुभयो ।

त्यसैगरी, पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत पर्वतको सहस्रधारा भन्ने ठाउँ, पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको धुम्सी भन्ने ठाउँ, खोड्पे–चैनपुर राजमार्ग अन्तर्गत बझाङको दुम्री खोला भन्ने ठाउँ, सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको गौँडेपुल भन्ने ठाउँ र मदन भण्डारी राजमार्ग अन्तर्गत गुल्मीको पानीटङ्की भन्ने ठाउँको अवरोध हटाई एकतर्फी रूपमा सडक पुनः सञ्चालनमा ल्याइएको छ ।

बाढीपहिरोले अवरुद्ध भएका ठाउँमा अवरोध हटाउने प्रयास भइरहेको छ । विभागका महानिर्देशक थापाका अनुसार साँफेबगर–मार्तडी–कोल्टी सडकअन्तर्गत बाजुराको बार्जुगाड, बल्दे–अम्कोट भन्ने ठाउँ, डुम्रे–बेँसीसहर–चामे सडक अन्तर्गत मनाङको तिमाङ छहरा भन्ने ठाउँ, साँफेबगर–मार्तडी–कोल्टी सडकअन्तर्गत बाजुराको हड्डे खोला, रिला र बलेना भन्ने ठाउँको सडक अवरुद्ध छ । त्यसैगरी पाँचखाल मेलम्ची टिम्बु सडक अन्तर्गत सिन्धुपाल्चोकको मेलम्ची बजार, पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत बागलुङ नगरपालिकाको बोक्से भन्ने ठाउँ, अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको लिपिङ भन्ने ठाउँमा आएको पहिरो हटाई सडक पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।

खोड्पे–चैनपुर सडक अन्तर्गत बझाङको कलाची र तमैल भन्ने ठाउँमा, भेरी करिडोरअन्तर्गत सुर्खेतको पोखरे भन्ने ठाउँ, मूर्तिया–गुलरिया–भुरीगाउँ–तेलपानी–सुर्खेत–माथिल्लो डुङ्गेश्वर–बैक–बयुली नागमा सडकखण्ड अन्तर्गत दैलेखको बाँद्रे भन्ने ठाउँ, कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको सत्तरी भन्ने ठाउँ, सुर्खेत–दैलेख–महावुलेख–गाल्जे, नाग्मा–गमगढी–नाक्चेलाग्ना सडकअन्तर्गत दैलेखको गुराँसे भन्ने ठाउँमा भएको अवरोध हटाई सडक सञ्चालनको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी, उहाँका अनुसार डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत मनाङको तिमाङ खोला, धारापानी, बगरछाप र लमजुङको रामबजार, अर्खले, च्याम्चे र घट्टेखोला भन्ने ठाउँको अवरोध हटाई सडक सञ्चालनको तयारी भइरहेको छ । आजको गोरखापत्र दैनिकबाट