back
stc
prabhu insurance

बैशाख मसान्तसम्म १०८ अर्वका वस्तु निर्यात: ३२ अर्वको मोवाइल सहित १२५४ अर्वको वस्तु आयात

काठमाडौं । चालू आर्थिक वर्षको दस महिना अर्थात २०७८ बैशाख मसान्तसम्म व्यापार घाटा बाह्र गुणा बढेको छ । कोरोना महामारीपछि सरकारले अत्यावश्यक बाहेका सबै सेवा बन्द गरेको छ । यातायातसँगै उधोग धन्दा,बन्द व्यापार,सहर, बजार बन्द छन् । तर, देशमा उपभोग्य वस्तुको आयात तथा निर्यात भने बढेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार २०७८ वैशाखसम्ममा अघिल्लो आर्थिक वर्षको तुलनामा २२.३४ प्रतिशतले निर्यात बढेको छ । अघिल्लो आर्थिक वर्षको चैतसम्ममा ४.८१ प्रतिशत निर्यात घटेको थियो । त्यस्तै योबीचमा आयात पनि बढेको छ ।

चालु आर्थिक वर्षको २०७८ वैशाखसम्ममा अघिल्लो वर्षको तुलनामा ३२.१९ प्रतिशतले आयात बढेको छ । कोरोनाका कारण अघिल्लो वर्ष कडा लकडाउन भएको थियो । त्यसबेला वस्तुको आयात र निर्यातमा उल्लेख्य कमी आएको थियो ।

त्यसैले यसपालीको आँकडा पोहोरभन्दा उत्साहजनक देखिएको हो । भंन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको वैशाखसम्ममा १ खर्ब ८ अर्ब ४७ करोड ९७ लाख रूपैयाँ बराबरको वस्तु नेपालबाट निर्यात भएको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा ८२ अर्ब ६ करोड रूपैयाँको मात्रै वस्तु निर्यात भएको थियो । उक्त समयमा नेपालबाट सबैभन्दा धेरै सोयाबिन तेल निर्यात भएको छ ।

तथ्यांकअनुसार ३५ अर्बको सोयाविन तेल निर्यात भएको थियो । त्यसपछि ५ अर्ब ९८ करोड बराबरको कार्पेट र ५ अर्ब ९७ करोडको अलैँची निर्यात भएको छ ।

गत आर्थिक वर्षको २०७७ वैशाख सम्ममा १० खर्ब २५ अर्ब १३ करोड ७७ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । चालु आर्थिक वर्ष २०७८ बैशाख मसान्तसम्मको सोही अवधिमा भने १२ खर्ब ५४ अर्ब ११ करोड रूपैयाँको वस्तु आयात भएको छ । अघिल्लो वर्षको तुलनामा २ खर्ब २८ अर्ब ९७ करोड बढीको सामान नेपाल भित्रिएको छ।

तथ्यांक अनुसार चालु आर्थिक वर्षको वैशाखसम्ममा सबैभन्दा धेरै ७० अर्ब ५६ करोड रुपैयाँको डिजेल आयात भएको छ । डिजेल आयातबाट सरकारले ४२ अर्ब ९८ करोड राजस्व उठाएको छ । दोस्रोमा स्टिल र फलामका कच्चा पदार्थ आयात भएको छ ।

सो समयमा ५७ अर्ब ३१ करोड रुपैयाँ बराबरको स्टिल र फलामका कच्चा पदार्थ आयात भएको छ । तेस्रो नम्बरमा साढे ३८ अर्बको सोयाविन तेलको कच्चा पदार्थ आयात भएको छ । त्यस्तै ३२ अर्ब रूपैयाँको मोबाइल फोन आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

आयात–निर्यात बढे पनि चालु आर्थिक वर्षको १० महिनामा २१ प्रतिशतले व्यापार घाटा बढेको छ । गत आर्थिक वर्षको १० महिनामा ९ खर्ब ४३ अर्ब रूपैयाँ व्यापार घाटा थियो । यो वर्षको सोही अवधिमा भने व्यापार घाटा बढेर ११ खर्ब ४५ अर्ब ६३ करोड पुगेको छ ।

कोरोना महामारीबीच पनि नेपालको उत्पादन वृद्धि भएका कारण निर्यात बढेको बताउँछन् उधमी(व्यवसायी पवन गोल्यान बताउछन् । यो समयमा नेपालको उत्पादन १० प्रतिशतले बढेको छ,उत्पादन बढेपछि निर्यात बढ्ने कुरा स्वभाविक नै हो । अहिले विश्व बजारमा नेपाली उत्पादनको माग बढ्दो छ ।

सरकारको नीति अनुसार नै निर्यात वृद्धि भएको छ। सरकारले निजी क्षेत्रको कुरा बुझेर काम गरिरहेको छ । यो सरकार व्यापार घाटा कम गर्ने विषयमा निकै गम्भीर छ,व्यापार घाटा कम गर्न सरकारले निर्यात हुने वस्तुको सूची नै बनाएर उत्पादन बढाइरहेको छ ।

निर्यात भइरहेका वस्तुको परिमाण वृद्धि गर्ने र रोकिएका वस्तु पनि खुलाउने तयारीमा सरकार रहेको छ। यो अवधिमा नेपालले पहिलोपटक एक खर्बभन्दा बढीको सामान निर्यात गरेको छ ।