चार राजदुत तत्काल फिर्ता बोलाइने
काठमाडौं । निवर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्ति गरेका राजनीतिक भर्तिका राजदुतहरूलाई शेरबहादुर देउवा गठबन्धन सरकारले फिर्ता बोलाउने नीति लिने भएको छ।
अमेरिका, चीन, भारत र बेलायतका राजदुतलाई तत्काल फिर्ता बोलाउने बारेमा गठबन्धन दल भित्र छलफल शुरू भएको छ। अमेरिकाका राजदुत डा. युवराज खतिवडा, भारतका निलाम्बर आचार्य, चीनका महेन्द्र बहादुर पाण्डे र बेलायतका राजदुत लोकदर्शन रेग्मी फिर्ता बोलाउने हिटलिष्टमा परेका छन।
यद्यपी परराष्ट्र मन्त्री नियुक्ति नभएका कारण अहिले फिर्ता बोलाउने निर्णय हुन सकेको छैन्। राजनीतिक भर्ति भएका लाइन नमिल्ने विभिन्न देशका राजदूतलाई पदमुक्त गरेर आफ्ना मान्छे पठाउन गठबन्धन दल भित्रका दलहरूमा छलफल शुरू भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले ठ्याक्कै पूर्ववर्ती सरकारकै सिको गरेर विभिन्न देशका राजदूत फिर्ता बोलाउने तयारी अघि बढाएको बताइन्छ ।
परराष्ट्र मन्त्रालयले नेतृत्व पाए लगत्तै यो काम अघि बढाउने सरकारको तयारी रहेको छ । अमेरिकाका राजदूत युवराज खतिवडालाई पहिलो घानमै निशाना बनाइँदैछ । नेकपा (एमाले)मा अलोकप्रिय भएपनि ओलीको प्रिय पात्र रहेका डा. खतिवडा ५ महिना अघि राजदूतका रूपमा अमेरिका पुगेका थिए ।
माओवादी केन्द्र कोटाबाट राजदूत बनेका चीनका राजदुत लीलामणि पौड्याललाई फिर्ता बोलाएर चीनमा ओली सरकारले एमाले केन्द्रीय नेता महेन्द्रबहादुर पाण्डेलाई राजदुत बनाएर बेइजिङ पठाएको थियो।
उनी आगामी भदौं महिना भित्रै स्वदेश फर्किने दिन गिन्ति शुरू भएको कांग्रेसका बुद्धिजीवी र परराष्ट्र मन्त्रालयमा चर्चा हुन थालेको छ । चीन जान पुर्व राजदुत पौडेलले पहल र लविङ गर्न थालेका छन।
चीनमा राजदुत सिफारिस गर्ने भागवन्डा माओवादी केन्द्रले पाउने भएको छ। अमेरिका, बेलायतमा कांग्रेसले र भारतमा जसपाले भागवन्डा पाउने सम्भावना रहेको छ।
चीनमा राम्रो कार्यसम्पादन गर्दागर्दै ओलीको कोपभाजनमा परेको भन्दै त्यहाँ पुनः उनै पौडेललाई राजदूत बनाएर पठाउन एकथरीले लबिङ थालेका छन् । पौडेल स्वयं पनि माओवादी केन्द्रको समर्थनमा देउवा प्रधानमन्त्री बनेपछि लाइन मिलाउन सक्रिय छन् ।
अहिले कांग्रेसको केन्द्रीय कार्यालय सानेपा र परराष्ट्र मन्त्रालयतिर लोकदर्शन रेग्मीको लन्डन बसाइँ पनि छिट्टै टुंगिने चर्चा छ । प्रधानमन्त्री पत्नी डा.आरजु राणा निकट भनेर चिनिएका रेग्मी तत्कालीन प्रधानमन्त्री ओलीलाई प्रभावित पारेर ४ महिनाअघि मात्रै राजदूतका रूपमा बेलायत पुगेका थिए ।
प्रधानमन्त्री देउवाले फिर्ता बोलाउने तयारी गरेपछि उनले कांग्रेसी नेताहरूसँग हिमचिम बढाउन थालेका छन् । रेग्मीले आफूलाई थमौती गर्न प्रयास गरे पनि उनको चाहना पूरा हुने सम्भावना निकै कम रहेको छ ।
इजरायलकी राजदुतमा पुर्व प्रधानमन्त्री ओलीकी साली तथा नेपाल चेम्बर अफ कमर्शकी नेतृ अञ्जान शाक्य, भारतका नीलाम्बर आचार्य, ओमनकी शर्मिला ढकाल पराजुली लगायत राजदूतलाई पनि देउवा नेतृत्वको सरकारले परिवर्तन गर्ने सूचीमा राखेको छ । आचार्य दिल्ली पुगेको लामै समय भए पनि अन्य राजदूत केही महिनाअघि मात्रै त्यता पुगेका हुन् ।
त्यसैगरी केही कूटनीतिज्ञ आफ्नो जिम्मेवारी पूरा गरेर स्वदेश फर्किएका छन् । दी राइजिङ नेपालको सम्पादक रहेका बेला माओवादी केन्द्रबाट डेनमार्कको राजदूत नियुक्त भएका युवराज लम्साल कार्यकाल सकेर केही दिनअघि मात्रै नेपाल फर्किएका छन् ।
सैनिक शासकको दुष्चक्रमा फसेको म्यान्मार(वर्मा) मा राजदूतको राम्रो भूमिका निर्वाह गरेर एनआरएनका पुर्व नेता भीम उदास पनि स्वदेश फर्किएका छन् । पद खोसिए पनि निषेधाज्ञाका कारण अस्ट्रेलियामै थुनिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका भतिज महेशराज दाहाल पनि अघिल्लो साता मात्र नेपाल फर्किएका छन् ।
वि.सं.२०७८ साउन २२ ०८:४६