साहित्यकारहरूलाई प्रज्ञा प्रतिष्ठानको सम्मान

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले विभिन्न मितिमा गरिएका निर्णय अनुसार वरिष्ठ साहित्यकार आनन्ददेव भट्ट, वरिष्ठ साहित्यकार डा. तारानाथ शर्मा र वरिष्ठ कवि नरेश शाक्यलाई आजीवन सदस्यता एवम् वरिष्ठ इतिहासविद् डा. महेशराज पन्त, वरिष्ठ दर्शनशास्त्री प्रा.डा.वीरेन्द्रप्रसाद मिश्र तथा अन्तर्राष्ट्रिय कानुनका वेत्ता प्रा.डा.सूर्यप्रसाद सुवेदीलाई प्राज्ञ मानार्थ सदस्यता प्रदान गरिएकोमा गत श्रावण ३२ गते प्रज्ञा भवन कमलादी, काठमाडौमा आयोजित सङ्क्षिप्त कार्यक्रममा उपस्थित महानुभावहरूलाई कार्यक्रममै र स्वास्थ्य आदि समस्याका कारणले उपस्थित हुन असमर्थ महानुभावहरूलाई हिजो श्रावण ३२ गते र भदौ १ गते उहाँहरू रहनुभएकै स्थानमा पुगेर माला र दोसल्लासहित प्रज्ञा–प्रतिष्ठानको सदस्यताको प्रमाण–पत्र प्रदान गरेर सम्मान गरिएको प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगत प्रसाद उपाध्यायले जानकारी दिएका छन।
मानार्थ प्राज्ञ सदस्य प्रा.डा.वीरेन्द्रप्रसाद मिश्र र आजीवन सदस्य नरेश शाक्य आफै प्रज्ञा–प्रतिष्ठानमा उपस्थित भएका थिए भने मानार्थ प्राज्ञ सदस्य प्रा.डा. सूर्यप्रसाद सुवेदीको प्रमाण–पत्र उहाँका सहोदर दाजु प्रा.डा. देवीप्रसाद सुवेदीले ग्रहण गरेका थिए ।
लामो समयदेखि विस्मरण रोगबाट पीडित रहनु भएका र हाल निमोनियासमेत भई चाबहिल स्थित मेडिकेयर अस्पतालमा भर्ना भई उपचार गराइ रहनु भएका आनन्ददेव भट्टलाई उहाँका भाइ डा.अर्जुनदेव भट्ट र छोरा सौरभ भट्टको सहयोगमा अस्पतालमै पुगेर तथा विस्मरण तथा हिँडडुल गर्न नसक्ने अवस्थामा रहनुभएका डा.तारानाथ शर्मालाई उहाँकै निवास, सरस्वतीनगरमा गएर माला र दोसल्ला सहित आजीवन सदस्यताको प्रमाण(पत्र प्रदान गरेर सम्मान गरिएको छ ।
त्यस्तै कार्यक्रममा उपस्थित हुन नसक्नुभएका डा. महेशराज पन्तलाई डल्लुस्थित उहाँकै निवासमा पुगी माला र दोसल्ला सहित मानार्थ प्राज्ञ सदस्यताको प्रमाण–पत्र प्रदान गरेर सम्मान गरिएको सदस्य सचिव उपाध्यायले जानकारी दिएका छन्।
पन्तको तीन तलामा विस्तारित भव्य पुस्तकालय र अभिलेखालयको अवलोकन समेत टोलीले गरेको थियो ।
आजीवन सदस्यता र प्राज्ञ मानार्थ सदस्यताबाट सम्मानित साधकहरूलाई हार्दिक बधाईसहित अस्वस्थ अवस्थामा रहनुभएका प्राज्ञज्यूहरूलाई शीघ्र स्वास्थ्यलाभका लागि हार्दिक शुभकामना छ ।
वि.सं.२०७८ भदौ १ २१:२६