back
stc
prabhu insurance

एमालेले महाधिवेशन कार्यतालिका बनायो

काठमाडौं । नेकपा विभाजनसँगै विभाजित भएको नेकपा (एमाले) ८ महिनापछि पुरानै अवस्थामा फर्किएको छ । २०७७ फागुन २३ को फैसाल पछि पनि विभाजित अवस्थामै रहेको एमालेको माधव नेपाल समूहको जनाधार भएका १० जना मुख्यलाई साथमा लिएर अध्यक्ष केपी शर्मा ओलीले वडादेखि केन्द्रसम्मका अधिवेशनहरुको मिति तय गरेका छन् ।

एमाले आफ्नो पुरानै अवस्थामा फर्किदा बरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, मुकुन्द न्यौपाने, वेदुराम भुषाल, राम कुमारी झाक्री लगायतको एउटा पंक्ति भने छुटेको छ ।

एमालेबाट विभाजित माधव नेपाल पक्षले नयाँ पार्टीको मान्यता पाउन निर्वाचन आयोगमा सनाखत कार्यक्रम भन्दा एक दिन अगाडि नै ओलीले माधव समूहका मुख्य हस्ती १० जना स्थायी कमिटी सदस्यसहितको बैठकमा पार्टीको गति अघि बढाएका छन् ।

विभाजनको असर तलसम्म पुग्दा शुन्यमा पुर्याउने रणनीतिसहित पार्टीलाई अब वायुपंखी गतिमा दौडाउने निर्णय भएको बताइएको छ । बैठकले विभाजनको प्रक्रियाबाट फर्केर पार्टीमा क्रियाशील हुन माधव नेपालसहित सबैलाई आग्रह गरेको बैठकपछि प्रवक्ता प्रदिप ज्ञवालीले बताएका छन् ।

एमालेको स्थायी कमिटी बैठकले पार्टीका सबै संरचनाहरुलाई मूलभूत रुपमा २०७५ जेठ २ अघि फर्काएको छ । तर नेकपा एकताबाट एमालेमा निरन्तरता दिएका पूर्व माओवादी नेता कार्यकर्ताहरुको हकमा भने यथावत जिम्मेवारी दिएको छ ।

१० बुँदे सहमति कार्यन्वयनका सन्दर्भमा देखा पर्ने समस्या समाधान गर्न महासचिव ईश्वर पोखरेल सहितको सात सदस्यीय कार्यदल गठन गरेको छ भने माधव समूह छाडेका केन्द्रीय सदस्यहरु सहितको पहिलो बेठक भदौं १० गते बस्ने भएको छ ।

त्यस्तै यस अघि भदौ २७ र २८ मा तोकिएको विधान महाधिवेशन असोज ४,५ र ६ गते हुने भएको छ । कात्तिक ६ गते देशभरका वडा वा सो तहका अधिवेशनको मिति तय भएको छ भने कात्तिक ९ गते स्थानीय तहका अधिवेशन तोकिएका छन् । एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १३ गतेसम्म आयोजना हुने भएको छ ।