नेपाललाई १ लाख ३१ हजार कोभिडविरुद्धको खोप बेलायतद्वारा सहयोग
काठमाडौं । बेलायतले नेपाललाई कोभिड–१९विरुद्धको १ लाख ३१ हजार डोजभन्दा बढी खोप सहयोग गरेको छ ।
कतार एयरवेज मार्फत ल्याइएको १ लाख ३१ हजार १ सय २० डोज अस्ट्राजेनिका खोप बेलायती राजदूत निकोला पोलिटले स्वास्थ्य मन्त्रालयका विशेषज्ञ डा. दिपेन्द्ररमण सिंहलाई हस्तान्तरण गर्नु भएको छ ।
खोप हस्तान्तरण गर्दै राजदूत पोलिटले बेलायत नेपालको सबैभन्दा पुरानो साथी भएको आफूहरूको सहकार्यको इतिहास २ शताब्दी भन्दा लामो रहेको बताउनुभयो ।
बेलायतले महामारीसँग नेपाललाई सहयोग गर्दै आइरहेको स्मरण गर्दै उहाँले आज आएको १ लाख ३१ हजार डोज खोप कोभ्याक्स बाहेकको दुई पक्षीय सहयोग भएको बताउनुभयो ।
सहयोग गरिएका खोपहरू अति जोखिम समूहलाई दिइनेमा आफू आशावादी रहेको उहाँको भनाइ छ ।
केही समय अघि बेलायतले नेपाललाई अक्सिजन प्लान्ट, भेन्टिलेटर र पीपीई लगायतका स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।
वि.सं.२०७८ भदौ १० १९:३४



















