नेपाल राष्ट्र बैंकले सीडी रेसियो ९० प्रतिशतमा झार्न २७ वटै वाणिज्य बैंकहरुलाई निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ)लाई बोलाएर असार मसान्तभत्रि कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत मा झार्न निर्देशन दिएको छ ।
मंगलबार २७ वटै वाणिज्य बैंकका सीइओहरुलाई छलफलमा बोलाएर कर्जा विस्तारमा विचार पुर्याउन र नियम विपरित कर्जाको ब्याजदर नबढाउन निर्देशन दिएको छलफलमा सहभागि एक सीइओले बताए ।
कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगानाले बैंकहरुलाई जथाभावी रुपमा नाफालाई मात्र वृद्धि गर्न ध्यान नदिन भनेकी छिन् ।
साथै, उनले ऋणको विस्तारलाई ठिक्क राख्न निर्देशन दिएकी छिन् । आगामी वर्षका लागि बैंकको बजेट बनाउँदा संवेदनशील हुन डेपुटी गभर्नरले निर्देशन दिएका छन् ।
कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगाना तिमिल्सिना तथा बमबहादुर मिश्र सहित नियमन विभागका प्रमुख गुणाकर भट्ट तथा सुपरिवेक्षण विभागका प्रमुख देवकुमार ढकाल तथा विदेशी विनिमय विभागका प्रमुख गुरु पौडेल सहित उच्च अधिकारीको उपस्थित रहेको थियो । गभर्नर महाप्रसाद अधिकारी भने छलफलमा उपस्थित थिएनन् ।
वि.सं.२०७९ असार १ ०८:५०




















